कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

जलविद्युत आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जा मन्त्री

जलसरोकार
आइतबार, असोज १२, २०८२ | १५:१३:५२ बजे

 

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पछिल्ला दिनमा जलविद्युत आयोजनाहरूमा सुरक्षा चुनौती तीव्र बनेको भन्दै गृह मन्त्री र ऊर्जा मन्त्रीलाई हस्तक्षेप गर्न आग्रह गरेको छ ।

आइतबार दुवै मन्त्रीलाई पठाइएको पत्रमार्फत इप्पान अध्यक्ष गणेश कार्कीले निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनामा १० प्रतिशत निःशुल्क सेयर माग्दै अवरोध गर्ने गतिविधि बढेको भन्दै चासो व्यक्त गरेका छन् ।

पत्रमा ऊर्जा क्षेत्र नेपालको आर्थिक समृद्धिका लागि अत्यन्तै महत्वपूर्ण भएकाले लगानीकर्ताले ढुक्क भई लगानी गर्न सक्ने वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ ।

विशेष गरी सिन्धुपाल्चोकको ४५ मेगावाट भोटेकोशी जलविद्युत आयोजनामा भोटेकोशी गाउँपालिका–जेन्जी समूहको नाममा १० प्रतिशत निःशुल्क सेयर माग्दै विगत १७ दिनदेखि विद्युत गृह बन्द गरिएको उल्लेख छ। यसका कारण दैनिक करिब ९८ लाख घाटा भोग्नु परिरहेको र हालसम्म १६ करोड रुपैयाँभन्दा बढी क्षति पुगेको इप्पानले जनाएको छ। विद्युत गृह बन्द गरिएपछि आवश्यक मर्मतसम्भार र अनुगमनका लागि समेत जान नदिएको घटनाप्रति संस्थाले गम्भीर ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, सिन्धुपाल्चोककै जुगल गाउँपालिकाका स्थानीयबासीको नाममा १० जलविद्युत आयोजनासँग निःशुल्क सेयर माग्दै पत्र पठाइएको र अन्य क्षेत्रमा समेत यस्तै अवरोध भइरहेका घटनाबारे उल्लेख गर्दै इप्पानले ती आयोजनामा शान्ति–सुरक्षा कायम गर्न सरकारसँग माग गरेको छ ।

इप्पानका अनुसार, यस्ता अवरोधले आयोजनाको लागत र समय बढाउने मात्र नभई निजी लगानीलाई निरुत्साहित बनाउने खतरा रहेको छ । पछिल्ला वर्षहरूमा आयोजनामाथि आक्रमण, तोडफोड, आगजनीजस्ता गतिविधि बढेको कारण लगानी असुरक्षित भएको भन्दै, दीर्घकालीन दृष्टिकोणले स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास कायम गर्न सरकारलाई ऊर्जा सुरक्षा नीति निर्माण गर्न समेत माग गरिएको छ।

इप्पानले जलविद्युतलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रको रूपमा सुरक्षाको ग्यारेण्टी दिन आग्रह गर्दै ऊर्जा क्षेत्रमा अवरोध अब सह्य नहुने चेतावनी दिएको छ।

प्रकाशित मिति : आइतबार, असोज १२, २०८२ | १५:१३:५२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया