सेयर बजार ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

प्रधानमन्त्री ओलीबाट सिँचाइ र जलविद्युत् उद्घाटन

जलसरोकार
मंगलबार, साउन १३, २०८२ | १७:५१:५३ बजे

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत सिँचाइ विस्तार, जलविद्युत् उत्पादन तथा प्रसारण लाइनको एकसाथ उद्घाटन गरेका छन् । कैलाली जिल्लाको जानकी गाउँपालिका–९ को कटासेस्थित सिँचाइ नहर परिसरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधा पु¥याउने नहर, ४ दशमलव ७१ मेगावाट क्षमताको जलविद्युत् आयोजना र ३३ केभी क्षमताको प्रसारण लाइनको उनले उद्घाटन गरेका हुन् ,

रानी जमरा कुलरिया सिँचाइ आयोजना नेपालको राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो, जसले पश्चिम तराईको समृद्धि, सिँचाइको दिगोपन, तथा ऊर्जामा आत्मनिर्भरता हासिल गर्ने दिशातर्फ उल्लेखनीय योगदान पु¥याउने अपेक्षा गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् कैलालीकै ३३ केभी क्षमताको प्रसारण लाइनमा जोडिएको छ, जसले स्थानीय क्षेत्रको ऊर्जाशक्ति आपूर्ति सुदृढ बनाउनेछ ।

उक्त आयोजनाले प्रारम्भिक चरणमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सिँचाइ सुविधा पु¥याएको थियो भने अब तेस्रो चरणको विस्तार कार्य थालनी भएसँगै भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडी लगायतका पालिकामा सिँचाइ प्रणाली विस्तार हुनेछ । यसले त्यहाँको कृषि उत्पादन वृद्धि गरी स्थानीय किसानको जीवनस्तर सुधारमा ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रानी जमरा कुलरिया आयोजना नेपालको ग्रामीण कृषि, जलस्रोत र ऊर्जा क्षेत्रको एक ऐतिहासिक मोड भएको बताएका छन् । उनले, आयोजना केवल भौतिक पूर्वाधार निर्माणको प्रतीक मात्र नभई, समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई व्यवहारमा उतार्ने एक आधारशिला बनेको बताए ।

प्रधानमन्त्री ओलीले करिब १२० वर्षअघि स्थानीय किसानहरूको सामूहिक प्रयास र परम्परागत सिँचाइ ज्ञानबाट सुरु भएको यो प्रणाली आज आधुनिक यान्त्रिक नहर र जलविद्युत् संयन्त्रमा परिणत हुनु गौरवको विषय भएको बताए । उनले स्थानीयको सहभागिता, सरकारको लगानी र प्राविधिक संयोजनको सफल उदाहरणका रूपमा रानी जमरा कुलरिया सिँचाइ प्रणालीलाई प्रस्तुत गरे ।

प्रधानमन्त्रीले नेपालका अन्य राष्ट्रिय गौरवका सिँचाइ आयोजना—सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई, र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजना—शीघ्र सम्पन्न गर्नका लागि सम्बद्ध निकायहरूलाई कडाइका साथ निर्देशनसमेत दिएका छन् ।  उनले मुलुकको समग्र आर्थिक रूपान्तरण सिँचाइ, ऊर्जा र कृषिमा निर्भर रहने भएकाले यस्ता परियोजनामा कुनै ढिलासुस्ती सह्य नहुने स्पष्ट पारे ।

रानी जमरा कुलरिया आयोजना पूर्णरूपमा सम्पन्न भएसँगै तराईको कृषिमा यान्त्रीकरण, सिँचाइमा नियमितता, ऊर्जा उपयोगमा वृद्धि, र खाद्य सुरक्षामा स्थायित्व आउने अपेक्षा गरिएको छ । आयोजनाबाट ५० हजारभन्दा बढी कृषक परिवार प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यस अवसरमा संघीय मन्त्रीहरू, स्थानीय जनप्रतिनिधि, आयोजनासँग सम्बन्धित प्राविधिक समूह, सरोकारवालाहरू तथा हजारौं स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले किसानहरूप्रति आभार व्यक्त गर्दै सरकारको प्राथमिकता अब ग्रामीण विकास, ऊर्जा उपयोगिता र कृषिमा आत्मनिर्भरता कायम गर्नुमा केन्द्रित रहेको पनि स्पष्ट गरे ।

 

 

 

 

 

प्रकाशित मिति : मंगलबार, साउन १३, २०८२ | १७:५१:५३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया