सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

जलसतह कम भएसंगै कालीगण्डकी ‘ए’बाट विद्युत् उत्पादन सुरु गर्ने तयारी

जलसरोकार
सोमबार, असोज १२, २०८३ | ०९:१२:२० बजे

 

काठमाडौं : कालीगण्डकी नदीमा आएको बाढीका कारण चार दिनदेखि बन्द रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सुरु गर्ने भएको छ ।

कालीगण्डकी–५ बेल्टारीस्थित आयोजनामा नदीको पानीको बहाव उच्च भएपछि जोखिम हुन नदिन विद्युत् उत्पादन बन्द गरिएको थियो । अहिले नदीमा पानीको सतह घट्दै गएपछि सुरुङभित्र जम्मा भएको हिलो हटाएर पावर हाउसको अवस्था निरीक्षण गरी उत्पादन पुनः सञ्चालन गर्न लागिएको आयोजनाले जनाएको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरिसकेको छ । त्यसपछि आज बिहान १० बजेदेखि विद्युत् उत्पादन सुरु गर्न सकिने अवस्था बनेको उहाँले जानकारी दिनुभयो ।

“कालीगण्डकी नदीमा पानीको उच्च बहाव भएकाले जोखिम हुन नदिनका लागि उत्पादन नै बन्द गरेका हौँ,” उहाँले भन्नुभयो, “अहिले नदीमा पानीको सतह घट्दै गएकाले अब सुरुङभित्र रहेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर सुचारु गर्ने तयारी गरेका छौँ ।”

कालीगण्डकी नदीमा बाढी आएपछि आयोजनाको मिर्मीस्थित बाँधका सबै ढोका खोलिएका थिए । बाँधबाट पानी नदीमा फालिएपछि आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको थियो । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

यसैबीच, चार दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजारसमेत डुबानमा परेको छ । बाढीका कारण बजारका २६ घरका मानिसलाई नजिकैको विद्यालयमा राखिएको छ ।

आयोजनाको बाँधस्थलभन्दा केही तल स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएर लगेको छ।

प्रकाशित मिति : सोमबार, असोज १२, २०८३ | ०९:१२:२० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया