टेकुको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउने तयारी
जलसरोकार
काठमाडौं : काठमाडौं महानगरपालिकाको टेकुस्थित लामो समयदेखि बन्द रहेको ‘वेस्ट टु इनर्जी’ (फोहोरबाट ऊर्जा उत्पादन) परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ। परियोजनालाई नमूना कार्यक्रमका रूपमा पुनर्स्थापना गरी दिगो रूपमा सञ्चालन गर्ने उद्देश्यसहित काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
हालै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलबीच भएको भेटमा चालु आर्थिक वर्षभित्रै परियोजना सञ्चालनमा ल्याउने, काठमाडौंका सडकबत्तीको प्रभावकारी व्यवस्थापन तथा मर्मत, सौर्य सडकबत्ती विस्तार र सम्पदा क्षेत्रमैत्री विद्युतीकरणका विषयमा समेत विस्तृत छलफल भएको थियो।
छलफलपश्चात् वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी बोर्ड सदस्य अंकिता शाहको समन्वयमा दुई निकायबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। केन्द्रले आगामी दिनमा सौर्य सडकबत्ती विस्तार, सम्पदा संरक्षणसँग अनुकूल विद्युतीकरण तथा फोहोरबाट ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा महानगरसँग थप सहकार्य गर्ने जनाएको छ।
समझदारीपत्रअनुसार परियोजनाको पुनर्निर्माण, सञ्चालन, हस्तान्तरण तथा दीर्घकालीन व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको छ। परियोजनालाई आगामी दुई महिनाभित्र पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
युरोपियन युनियनको करिब १ करोड ८० लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको उक्त परियोजना केही समय सञ्चालनपछि बन्द भएको थियो। अब यसको पुनःस्थापनाका लागि आवश्यक वित्तीय स्रोत विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा सञ्चालित ‘मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रम’ मार्फत व्यवस्थापन गरिने जनाइएको छ।
केन्द्रका अनुसार उक्त कार्यक्रममार्फत हालसम्म सात वटा नगरपालिकामा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजना कार्यान्वयन भइसकेका छन् भने २० भन्दा बढी ठूला व्यावसायिक बायोग्यास परियोजना सहयोग प्राप्त गरिसकेका छन्।
केन्द्रले देशभरका नगरपालिकामा फोहोरबाट ऊर्जा उत्पादनको सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेको जनाएको छ। साथै, ४८ मिलियन अमेरिकी डलर बराबरको परियोजना प्रस्ताव हरित जलवायु कोषमा पेश गर्ने तयारी भइरहेको र त्यसका लागि अर्थ मन्त्रालयको सहमति प्रक्रियामा रहेको जानकारी दिएको छ।
यसका अतिरिक्त, पेरिस सम्झौताको दफा ६.२ अन्तर्गत कार्बन बजारसँग सम्बन्धित फोहोरबाट ऊर्जा परियोजनाको विकास प्रक्रिया पनि अघि बढाइएको छ। संस्थागत, सामुदायिक तथा व्यावसायिक क्षेत्रका साना, मझौला र ठूला बायोग्यास परियोजनाका लागि आशयपत्र आह्वानसमेत गरिसकिएको केन्द्रले जनाएको छ।
शहरी क्षेत्रमा कुहिने फोहोर व्यवस्थापन ठूलो चुनौतीका रूपमा रहेको अवस्थामा टेकु परियोजनाको पुनः सञ्चालनले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै बायोग्यास तथा जैविक मल उत्पादनमार्फत चक्रीय अर्थतन्त्र प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ग्यास अभावबीच स्वदेशी बिजुलीको खपत बढाउन कुलमानको सुझाव
-
नेप्सेमा सामान्य सुधार, ४.७९ अंकको वृद्धिसँगै कारोबार ४ अर्ब ४० करोड नाघ्यो
-
अपर अरुणमा सुरुङ निर्माणको औपचारिक सुरुआत, पहिलो ब्लास्टिङ सम्पन्न
-
दिब्यश्वरी हाइड्रोपावरको नाफा डेढ करोड नजिक, विद्युत् बिक्री आम्दानीमा उल्लेख्य सुधार
-
सुनको मूल्यमा एकैदिन ४ हजार २०० रुपैयाँको छलाङ, चाँदी पनि महँगियो
-
टेकुको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउने तयारी