कुलेखानीमा बाढी जोखिम नियन्त्रणको तयारी, तल्लो तटीय क्षेत्रमा साइरन र एसएमएस अलर्ट
जलसरोकार
काठमाडौं : कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जलाशयमा पानीको सतह बढ्न नदिनेदेखि तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली सुदृढ गर्नेसम्मका कामलाई तीव्रता दिएको छ।
कुलेखानी जलाशयमा बाढीजन्य जोखिम नियन्त्रण तथा न्यूनीकरणका लागि आज भएका गतिविधिअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्र (एलडीसी) को समन्वयमा कुलेखानी प्रथम जलविद्युत् केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको केन्द्र प्रमुखले जानकारी दिएका छन्।
जलाशयको बाँधमा थप अनुभवी जनशक्ति परिचालन गरिएको छ भने बाँधमा रहेको डिजेल जेनेरेटर (डीजी) समेत परीक्षण गरी दुरुस्त अवस्थामा राखिएको छ।
५ किलोमिटर क्षेत्रमा साइरन
बाँध नियन्त्रण प्रणालीअन्तर्गत ५ किलोमिटर क्षेत्रसम्म पुग्ने साइरन प्रणाली रहेको केन्द्रले जनाएको छ।
साइरन बजाउनुपर्ने अवस्था र त्यससम्बन्धी पूर्वजानकारीका लागि सचेतनामूलक सूचना तयार गरी देउराली, सिमखोला, हेभी, खानीखोला र सिस्नेरी प्रहरी चौकीमा फ्लेक्समार्फत सूचना टाँस गरिएको छ।
तल्लो तटीय क्षेत्रमा रहेका विद्युतीय साइरनलाई विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्थामा पनि सञ्चालन गर्न सकिने गरी वैकल्पिक व्यवस्था गरिएको छ। बाँधको डाउनस्ट्रिममा रहेको सिस्नेरी प्रहरी चौकी र इन्द्रसरोवर गाउँपालिकाको नयाँ भवनमा जडान गरिएका साइरनका लागि डिजेल जेनेरेटर जडान गरिएको छ।
त्यसका साथै सम्बन्धित व्यक्तिहरूलाई साइरन सञ्चालन गर्ने तरिकाबारे जानकारीसमेत दिइएको केन्द्रले जनाएको छ।
आपत्कालीन अवस्थाका लागि हाते साइरन
आपत्कालीन अवस्थामा तत्काल चेतावनी दिन सकिने गरी दुई थान हाते साइरन समेत वितरण गरिएको छ।
खानीखेत अस्थायी प्रहरी चौकी र सशस्त्र प्रहरी बलको हेभीस्थित इकाइलाई ती हाते साइरन हस्तान्तरण गरिएको केन्द्रले जनाएको छ।
एसएमएसमार्फत पनि पूर्वसूचना
बाँधको गेट खोल्नुपर्ने अवस्था आएमा सम्बन्धित निकाय र प्रभावित क्षेत्रमा रहेका व्यक्तिलाई एसएमएसमार्फत सूचना पठाउने व्यवस्थासमेत मिलाइएको छ।
यसका लागि जिल्ला विपद् व्यवस्थापन टोली, मकवानपुरका गाउँपालिकाका फोकल व्यक्ति, विभिन्न कार्यालयका प्रमुख तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका मोबाइल नम्बर संकलन गरिएको छ।
इन्द्रसरोवर र भीमफेदी गाउँपालिकाबाट ठूलो संख्यामा स्थानीय बासिन्दाका मोबाइल नम्बर संकलन गरिएको केन्द्रले जनाएको छ।
यसरी कुलेखानी प्रथमले जलाशयको पानी व्यवस्थापन, बाँधको निगरानी, वैकल्पिक विद्युत् आपूर्ति, साइरन प्रणाली, हाते साइरन तथा एसएमएसमार्फत पूर्वसूचना प्रवाहलाई एकीकृत गर्दै सम्भावित बाढीजन्य जोखिममा तल्लो तटीय क्षेत्रलाई समयमै सचेत गराउने तयारी अघि बढाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
उपत्यका जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक सवारी काठमाडौंमै होल्ड
-
पृथ्वी राजमार्गकाे कृष्णभिरसहित सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध
-
विज्ञानलाई वित्तसँग जोड्दै एनएमबी बैंक र इसिमोड बीच सहकार्य
-
कुलेखानीमा बाढी जोखिम नियन्त्रणको तयारी, तल्लो तटीय क्षेत्रमा साइरन र एसएमएस अलर्ट
-
साताको अन्तिम कारोबार दिन नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम घट्यो