सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बूढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजना निर्माणको तयारी

जलसरोकार
मंगलबार, पुस ०८, २०८२ | ०९:१८:०५ बजे

 

गोरखा : गोरखामा बूढीगण्डकी नदीमा आधारित दुई ठूला जलविद्युत् आयोजना निर्माणको तयारी अघि बढाइएको छ । १०३.४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारीमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले जानकारी दिए ।

उनका अनुसार दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवद्र्धन गर्न लागेको हो । कम्पनीले बूढीगण्डकी ‘क’ आयोजना करिब ३१ अर्ब ३२ करोड रुपैयाँ र बूढीगण्डकी ‘ख’ आयोजना करिब ५६ अर्ब ९९ करोड रुपैयाँ लागतमा निर्माण गर्ने योजना बनाएको छ ।

बूढीगण्डकी ‘क’ आयोजना अन्तर्गत धार्चे गाउँपालिका–३ लुस्याङमा बाँध बाँधेर करिब चार किलोमिटर लामो सुरुङमार्फत पानी माछाखोलामा पु¥याई विद्युत् गृह निर्माण गरिनेछ । रन अफ द रिभर प्रविधिमा आधारित यस आयोजनामा १११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिनेछ । यहाँ उत्पादित विद्युत् १२ दशमलव ७ किलोमिटर लामो प्रसारण लाइनमार्फत बूढीगण्डकी ‘ख’ आयोजनामा जोडिनेछ ।

यस्तै, बूढीगण्डकी ‘ख’ आयोजनाको बाँध धार्चे गाउँपालिका–७ खानीबेंसीमा निर्माण गरिनेछ । त्यहाँबाट ९ दशमलव ५ किलोमिटर लामो सुरुङ हुँदै सोतीमा विद्युत् गृह स्थापना गरिने योजना छ । यस आयोजनाबाट १९७ दशमलव ९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिनेछ ।

इञ्जिनियर मगरका अनुसार दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ । “भूकम्पअघि गरिएको सर्वेक्षणलाई आधार मानेर भूकम्पपछि आएको भू–गर्भीय परिवर्तनको अवस्था समेट्दै अन्तिम सर्वेक्षणको काम भइरहेको छ,” उनले भने, “आउँदो सुक्खायामदेखि निर्माण सुरु गर्ने तयारी छ ।”

दुवै आयोजनाबाट उत्पादन हुने तथा बूढीगण्डकी ‘क’ बाट हस्तान्तरण हुने गरी कुल ३२९ दशमलव ४ मेगावाट विद्युत् धादिङको लापा क्षेत्रमा रहेको सबस्टेसनमा १८ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइनमार्फत जोडिनेछ । यी आयोजनाले गोरखासहित समग्र राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेख्य योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, पुस ०८, २०८२ | ०९:१८:०५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया