झ्याप–झ्याप बत्ती जाने समस्या समितिले होइन, नेतृत्वले समाधान गर्छ : कुलमान घिसिङ
'झ्याप्प–झ्याप्प' बत्ती जाने समस्या नेतृत्व अभावको परिणाम भएको दाबी, सरकारलाई तत्काल पूर्णकालीन नेतृत्व नियुक्त गर्न आग्रह
जलसरोकार
काठमाडौं : 'समिति बनाएर विद्युत् प्रणाली चल्दैन, निर्णय गर्ने नेतृत्व चाहिन्छ' भन्दै पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले पछिल्ला दिनमा देखिएको 'झ्याप्प-झ्याप्प' बत्ती जाने समस्याको मूल कारण नेतृत्व अभाव भएको दाबी गरेका छन्।
सरकारलाई प्राधिकरणमा तत्काल पूर्णकालीन, सक्षम र अधिकारसम्पन्न नेतृत्व नियुक्त गर्न आग्रह गर्दै उनले समस्या देखिएपछि समिति गठन गरेर जिम्मेवारीबाट पन्छिन खोज्नु समाधान नभएको बताएका छन्।
बिहीबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशसमेत रहिसकेका घिसिङले वर्षायाममा प्राविधिक कारणले कहिलेकाहीँ विद्युत् आपूर्ति अवरुद्ध हुनु ऊर्जा प्रणालीको स्वाभाविक चुनौती भएको उल्लेख गरेका छन्। तर त्यसलाई देशमा विद्युत् उत्पादनको अभाव वा सम्पूर्ण विद्युत् प्रणाली असफल भएको अर्थमा बुझ्न नहुने उनको भनाइ छ।
उनले यस्ता प्राविधिक समस्या समाधान गर्न अनुभवी, निर्णय क्षमता र जिम्मेवार नेतृत्व अपरिहार्य हुने उल्लेख गर्दै नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि कायम मुकायमको भरमा सञ्चालन भइरहेकाले त्यसको असर प्रणालीमा देखिन थालेको दाबी गरेका छन्।
घिसिङले नेपाल विद्युत् प्राधिकरणजस्तो मुलुकको सबैभन्दा महत्वपूर्ण सार्वजनिक संस्थामध्ये एकलाई लामो समयसम्म पूर्णकालीन नेतृत्वविहीन अवस्थामा राख्नु सरकारको अदूरदर्शी निर्णय भएको टिप्पणी गरेका छन्। संस्थालाई सक्षम नेतृत्व दिन सरकारले कुनै तदारुकता नदेखाउने तर समस्या देखिएपछि मन्त्रालयबाट समिति गठन गरेर जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्ति समाधानको बाटो नभएको उनको भनाइ छ।
"समिति बनाएर विद्युत् प्रणाली चल्दैन, निर्णय गर्ने नेतृत्व चाहिन्छ," उनले फेसबुक पोस्टमा लेखेका छन्।
घिसिङका अनुसार प्रशासनिक अन्योल, निर्णय प्रक्रियामा ढिलाइ र राजनीतिक हस्तक्षेपको प्रत्यक्ष असर ऊर्जा क्षेत्रमा परेको छ। ऊर्जा क्षेत्र देशको अर्थतन्त्र, उद्योग, सेवा र जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले नेतृत्व अभावले कर्मचारीको मनोबल घट्ने, निर्णय प्रक्रियामा ढिलाइ हुने तथा दीर्घकालीन योजना कार्यान्वयनसमेत प्रभावित हुने उनले उल्लेख गरेका छन्।
यदि सरकारले ऊर्जा सुरक्षालाई साँच्चिकै प्राथमिकतामा राखेको हो भने नेपाल विद्युत् प्राधिकरणलाई तत्काल पूर्णकालीन, सक्षम र स्वायत्त नेतृत्व दिनुपर्नेमा उनले जोड दिएका छन्। अन्यथा अहिले देखिएको 'झ्याप्प-झ्याप्प' बत्ती जाने समस्या भोलिको गम्भीर संस्थागत संकटमा रूपान्तरण हुन सक्ने उनको चेतावनी छ।
घिसिङले नेतृत्व नियुक्तिसँगै निर्माणाधीन प्रसारण तथा वितरण प्रणालीको निर्माण शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउन, विद्युत् प्रणालीको आधुनिकीकरण गर्न, नियमित मर्मत-सम्भारलाई प्रभावकारी बनाउन, प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्न तथा आपत्कालीन प्रतिक्रिया प्रणालीलाई अझ सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
"समस्या कहाँ छ भन्ने देशले देखिरहेको छ, अब समाधान गर्ने जिम्मेवारी सरकारकै हो," घिसिङले फेसबुकमार्फत सरकारलाई आग्रह गरेका छन्।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणकै क्षेत्राधिकारमा निजी कम्पनीको दाबी? तामाकोशी क्यास्केडमा सर्वेक्षण अनुमतिले उठायो प्रश्न
-
नेपालको नजरमा विहारको बाढी नियन्त्रण
-
भेरी–बबई आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १३२ केभी प्रसारण लाइन निर्माण हुने
-
१२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु
-
झ्याप–झ्याप बत्ती जाने समस्या समितिले होइन, नेतृत्वले समाधान गर्छ : कुलमान घिसिङ