खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमा समस्या आएपछि उपत्यकासहित मध्य क्षेत्रमा विद्युत् अवरुद्ध
जलसरोकार
काठमाडौं : खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’मा रहेका बेला खप्ती–ढल्केबर प्रसारण लाइनमा समस्या आएको हो ।
प्राधिकरणका अनुसार बिहान ६ः४० बजेदेखि हेटौंडा–अमलेखगञ्ज र कमाने–अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन निर्धारित सटडाउनमा थिए । त्यस समयमा विद्युत् प्रणाली ढल्केबर–खुर्कोट–खिम्ती–भक्तपुर–स्युचाटार प्रसारण मार्गबाट सञ्चालन भइरहेको थियो ।
यसै क्रममा बिहान ८ः५२ बजे खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको सर्किट–१ को तार चुडिएर लाइन ट्रिप भएको थियो । त्यसपछि बिहान ९ः१८ बजे सोही प्रसारण लाइनको सर्किट–२ समेत ट्रिप भएपछि विद्युत् प्रसारण सम्पर्क विच्छेद भएको प्राधिकरणले जनाएको छ ।
दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको थियो ।
प्राधिकरणले विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न वैकल्पिक प्रसारण मार्ग प्रयोग गरेको जनाएको छ । भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसनबाट मैनहिया सबस्टेसन हुँदै विद्युत् आपूर्ति सञ्चालन गरिएको थियो ।
वैकल्पिक व्यवस्थामार्फत बिहान ९ः४४ बजेदेखि काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पुनःसुचारु गरिएको प्राधिकरणले जनाएको छ ।
हाल सम्बन्धित प्राविधिक टोलीले अवरुद्ध प्रसारण प्रणालीको स्थलगत निरीक्षण तथा आवश्यक मर्मतसम्भारको काम गरिरहेको छ । प्रसारण लाइनमा देखिएको समस्या पहिचान गरी प्रणालीलाई नियमित सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य