पुनहिलमा विद्युत् र खानेपानीको समस्या
जलसरोकार
म्याग्दी, : अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुिद्र सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत् अभाव भएपछि पर्यटकलाई समस्या भएको हो । यहाँ हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यअवलोकन गरी प्रकृतिमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।
घोडेपानीबाट बिहानै उकालो हिँडेर पुनहिल जाने क्रममा पदमार्गमा उज्यालोका साथै मोबाइल, क्यामेरालगायत सामग्री चार्ज गर्न विद्युत् तथा पिउन र शौचालयमा प्रयोग गर्ने पानी नहुँदा समस्या भएको काठमाडौँबाट आएका श्याम रञ्जितकारले गुनासो गरे ।
“अध्यारोमा उकालो हिँड्न पदमार्गमा सडक बत्ती नहुँदा, मोबाइल, क्यामेरामा ब्याट्री सकिँदा विद्युतिय उपकरण चार्ज गर्ने सुविधा भए पर्यटकलाई सजिलो हुने थियो”, उनले बताए, “पानीको अभावमा शौचालय जान पनि समस्या भइरहेको छ ।”
पर्यटकको सहजताका लागि पदमार्ग उज्यालो बनाउन, विद्युत् आपूर्ति नियमित गर्न केही तल रहेको मूलबाट पानी तान्ने उद्देश्यले विसं २०८० पुसमा नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले घोडेपानीबाट १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलसम्म लाइन पु¥याएको थियो । स्थानीयले ‘मिटरबक्स’ जडानमा बेवास्ता गर्दा विद्युत् आपूर्ति रोकिएको केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए ।
उनका अनुसार स्थानीयवासीको माग अनुसार पुनहिलमा करिब रु २५ लाख खर्चेर बिजुलीको लाइन पु¥याइएको हो । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले मिटरबक्स जडानका लागि गाउँपालिकाले बेवास्ता गरेको गुनासो गरे ।
पुनहिलमा घोडेपानीबाट ग्यालिन, बोत्तल र ड्रममा बोकेर पानी लैजाने गरिएको छ । एक घण्टा लगाएर उकालोमा पानी बोकेर लैजानुपर्ने भएकाले पुनहिलमा तातोपानी, चिया, कफीको मूल्य बढी तिर्नुपरेको पर्यटकले गुनासो गरेका छन् ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पुनहिलको जग्गा गाउँपालिकाको नाममा नभएकाले यहाँ मिटरबक्स राख्न समस्या भएको बताए । पुनहिल र तातोपानी कुण्डलगायत पर्यटकीयस्थलमा विद्युत् आपूर्तिका लागि एकै पटक पाँच वटा मिटरबक्स खरिद गर्न लागिएको उनले बताए ।
चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न सकिने पुनहिलमा यहाँ वार्षिक ३० हजारको अनुपातमा विदेशी र त्योभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गर्छन् ।
पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति रु ५० र विदेशीले रु एक सय ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि गाउँपालकाले रु ४० लाख एक सयमा ठेक्का लगाएको छ ।
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव