सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

जलसरोकार
सोमबार, असोज ०५, २०८३ | ०९:१७:३८ बजे

 

काठमाडौं : देशमा मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज राति देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने आंशिक बदली रहने पूर्वानुमान छ।

भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। भारी वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन, सडक तथा यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

यसैबीच, उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको महाशाखाले जनाएको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। प्रणालीको विकास र त्यसको गमनसँगै आगामी दिनमा नेपालको मौसममा समेत प्रभाव पर्न सक्ने भएकाले नियमित मौसम सूचना हेर्न महाशाखाले आग्रह गरेको छ।

 

 

प्रकाशित मिति : सोमबार, असोज ०५, २०८३ | ०९:१७:३८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया