भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत आपूर्ति दिन सुरु


काठमाडौं : नेपाल विद्युत प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ ।
पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सम्पन्न भएको क्षेत्रका ग्राहकहरुलाई सोही प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरिएको छ ।
पहिलो चरणमा पोखराको कुँडहर १३२/११ केभी सबस्टेसनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुल खण्डसम्मको वितरण लाइन भूमिगत गरी त्यस क्षेत्रका करिब तीन सय ग्राहकलाई विद्युत् आपूर्ति दिइएको हो ।
मुग्लिङ-पोखरा सडक विस्तार आयोजनासँगको समन्यमा प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गरी त्यहाँस्थित जमिनमाथिको (ओभरहेड) लाइन र पोलहरु हटाइएको छ । तार भूमिगत गरिएपछि गुजुल्टिएको तारले बनाएको कुरुपता हटी उक्त क्षेत्र सुन्दर देखिएको छ ।
सुरुमा कुँडहर सबस्टेसनसम्मको वितरण प्रणालीमात्र भूमिगत गर्ने व्यवस्था भएता पनि पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निक्लनासाथ यात्रुहरुले गुजुल्टिएको तारले कुरुप बनेको सहर देख्ननपरोस् भनी विमानस्थलको मुख्य प्रवेशद्धारसम्म विस्तार गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण प्रणाली भूमिगत बनाउने कार्यको अनुगमन गरी काम सम्पन्न भएको क्षेत्रमा क्रमश: विद्युत् आपूर्ति दिन र ओभरहेड संरचनाहरु हटाउन निर्देशन दिए ।
कार्यकारी निर्देशक घिसिङले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड, एयरपोर्ट लगायतमा क्षेत्रमा भइरहेको कामको अनुगमन गरेका थिए । महानगरपालिका, सडक कार्यालयलगायतका निकायसँग समन्वय गरी लेकसाइडको बाँकी काम तत्काल सम्पन्न गरी भूमिगत प्रणालीमार्फत विद्युत आपूर्ति दिन प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख र आयोजनालाई कार्यकारी निर्देशक घिसिङले निर्देशन दिए ।
पोखरा वितरण केन्द्रअन्तर्गत पर्ने पोखराको मुख्य सहर तथा सडकहरुमा रहेका ११ केभी एवम् ४०० भोल्ट लाइनलाई भूमिगत गर्ने र उक्त क्षेत्रहरुमा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ । हालसम्म पोखरा क्षेत्रको समग्र निर्माण प्रगति ५४ प्रतिशत रहेको आयोजना प्रमुख आनन्द सुवेदीले बताए । लेकसाइडस्थित अधिकतम स्ट्रिट क्षेत्रमा काम सम्पन्न भएकाले अब त्यहाँ पनि छिट्टै भूमिगत प्रणालीमार्फत विद्युत् आपूर्ति दिइने प्रमुख सुवेदीले बताए ।
विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको चालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने छ ।
हावाहुरी, पानी, चट्याङ इत्यादिको कारणले विद्युत् प्रणालीमा अवरोध नहुने हुँदा भूमिगत वितरण प्रणालीबाट प्रदान गरिने विद्युत् भरपर्दो, गुणस्तरीय र सुरक्षित हुँदा विद्युतीय दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति न्यून हुनेछ ।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो । आयोजनाको निर्माणका लागि असोज २०७८ मा टाटा प्रोजेक्ट लि., भारतसँग १ करोड ६७ लाख अमेरिकी डलर र ४९ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पोखरा क्षेत्रको काम आगामी साउनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक