राहुघाट जलविद्युत आयोजनाको सुरुङमा पाइपलाइन जडान अन्तिम चरणमा
जलसरोकार
म्याग्दी : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमा पाइपलाइन जडान कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाले आगामी तीन महिनाभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसहित संरचनागत कामलाई तीव्रता दिएको हो ।
आयोजनाका अनुसार हाल सुरुङभित्र स्टिल पाइप (पेनस्टक) जडान, जोइन्ट वेल्डिङ, एंकर ब्लक तथा सुरक्षात्मक संरचनाको कामलाई अन्तिम रूप दिइँदै छ । यससँगै विद्युत् गृह, स्विचयार्ड, ट्रान्समिसन संरचना तथा इलेक्ट्रो–मेकानिकल उपकरण जडानसम्बन्धी कार्य पनि समानान्तर रूपमा अघि बढाइएको छ ।
रघुगङ्गा हाइड्रोपावर लिमिटेडले सुरुङ तथा पाइपलाइन जडान सकिएसँगै पानी भर्ने (वाटर फिलिङ), दबाब परीक्षण (प्रेसर टेस्ट) र उपकरण परीक्षणको चरणमा प्रवेश गर्ने जनाएको छ। परीक्षण उत्पादन सफल भएपछि आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोडिनेछ ।
आयोजना व्यवस्थापन पक्षका अनुसार निर्माणका क्रममा स्थानीय तह, उपभोक्ता समिति र सरोकारवालासँग समन्वय गर्दै काम भइरहेको छ । “मुख्य संरचनाको काम अन्तिम चरणमा पुगेको छ । मौसमले साथ दिएमा तोकिएको समयभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यमा हामी केन्द्रित छौँ,” आयोजनासँग सम्बद्ध एक अधिकारीले जानकारी दिए ।
रघुगङ्गा गाउँपालिकामा निर्माण भइरहेको यो आयोजनाले सञ्चालनमा आएपछि म्याग्दी जिल्लासहित आसपासका क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार ल्याउने अपेक्षा गरिएको छ। साथै आयोजनाबाट स्थानीय स्तरमा रोजगारी सिर्जना, पूर्वाधार विकास र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत अघि बढाइएको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय विद्युत् प्रणालीलाई मजबुत बनाउने महत्वपूर्ण आयोजनामध्ये एकका रूपमा लिइएको छ । आयोजना सम्पन्न भएसँगै हिउँदमा देखिने विद्युत् अभाव न्यूनीकरण गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य