जलविद्युत् विकाससँगै नारच्याङको भौतिक र आर्थिक रूपान्तरण
१६२ मेगावाटका पाँच जलविद्युत् आयोजना सञ्चालनमा, थप आयोजना निर्माणाधीन
                                        जलसरोकार
                                    
                            
                                                    
                        
                        म्याग्दी,: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ क्षेत्र हाल जलविद्युत्को प्रमुख केन्द्र बन्दै गएको छ । नारच्याङ भएर बग्ने नदीहरूमा हालसम्म १६२ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना सञ्चालनमा आएका छन् भने थप ६३.३ मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन छ । साथै १७३.१४ मेगावाट क्षमताका दुई आयोजना निर्माण प्रक्रियामा रहेका छन् ।
अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनका अनुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाट क्षमताको म्रिस्ती खोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र ६ मेगावाट क्षमताको रेले खोला जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् ।
त्यसैगरी, नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ । नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको तयारी भइरहेको छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत्गृह पनि नारच्याङमै प्रस्ताव गरिएको छ ।
वडाध्यक्ष पुनका अनुसार यी आयोजना सञ्चालनमा आएपछि नारच्याङको सामाजिक, आर्थिक र भौतिक रुपमै आमूल परिवर्तन आएको छ । “हामीले कल्पना नगरेको अक्करे भिरमा अब गाडी गुड्छ, गाउँमै रोजगारीका अवसर बढेका छन्,” उनले भने, “अब गाउँबाट सहर पलायन हुनेभन्दा पनि फर्कनेको संख्या बढेको छ ।”
स्थानीय अगुवा तेज गुरुङका अनुसार आयोजनाबाट प्राप्त मुआब्जा, ठेक्का, यातायात, कृषि, होटल व्यवसाय, शेयरलगायतका क्षेत्रमा स्थानीयले प्रत्यक्ष लाभ लिएका छन् । जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी संघीय, प्रदेश र पालिका गरी क्रमशः ५०, २५ र २५ प्रतिशतका दरले बाँडफाँट हुने व्यवस्था छ ।
नारच्याङको प्रभा माध्यमिक विद्यालयमा हाइड्रो इञ्जिनियरिङ विषयको पठनपाठन सञ्चालन भएको छ । म्रिस्ती खोला जलविद्युत् आयोजनाले २०७१ सालमै कालीगण्डकी नदीमाथि बेलिब्रिज बनाएपछि नारच्याङ सडक सञ्जालमा जोडिएको हो । त्यसपछि अन्य आयोजनाले पनि सडक र बेलिब्रिज निर्माण गरी यातायात सहज बनाएका छन् ।
नीलगिरि जलविद्युत् आयोजनाले बनाएको पहुँचमार्गका कारण अन्नपूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । यसैगरी, रेले खोला आयोजना निर्माणस्थलसम्म सडक पुगेसँगै नारच्याङको बेँसीदेखि लेकगाउँसम्म सहज पहुँच स्थापित भएको वडा सदस्य श्याम पुर्जाले बताए ।
नेपाल विद्युत् प्राधिकरणले नारच्याङ नजिकैको दाना क्षेत्रमा २२० केभी क्षमताको सबस्टेशन निर्माण गरी घलेम्दी, म्रिस्ती र थापाखोला जलविद्युत् आयोजना जोडेको छ । दाना (अन्नपूर्ण–३) र पर्वतको खुर्कोट (कुश्मा–२) सबस्टेशन सञ्चालनमा आएपछि कालीगण्डकी क्षेत्रका नदीमा जलविद्युत् लगानीकर्ताको चासो बढेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् ।
लेखकको बारेमा
                                            प्रतिक्रिया
भर्खरै
- 
                        
                            
कार्बन व्यापारबाट ९ करोडभन्दा बढी आम्दानी, १० लाख घरधुरीलाई लाभ पुग्ने नयाँ कार्यक्रम सञ्चालनमा
 - 
                        
                            
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको उपलब्धी : देशभर ३७ लाखभन्दा बढी घरधुरीमा स्वच्छ ऊर्जाको सेवा
 - 
                        
                            
मन्त्री घिसिङद्वारा स्वच्छ ऊर्जा विस्तारमा केन्द्रको भूमिकाको प्रशंसा
 - 
                        
                            
सेयर बजार फेरि २६ सयभन्दा तल, नेप्से २५९५ अंकमा कायम
 - 
                        
                            
विद्युत् खपत बढाउन माग पक्ष सुधार उच्च प्राथमिकतामा : मन्त्री कुलमान घिसिङ
 - 
                        
                            
सुनचाँदीको मूल्य घट्यो : सुन प्रतितोला रु १,४००, चाँदी रु ४५ कम