जलविद्युत् आयोजनाको सहयोगमा सडक कालोपत्र गरिँदै
जलसरोकार
म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउनेताल–मौवाफाँट सडक स्तरोन्नतिसहित कालोपत्र गरिने भएको छ। रघुगङ्गा गाउँपालिकामा सञ्चालित जलविद्युत् आयोजनाहरूको लागत साझेदारीमा सडक कालोपत्रको योजना अघि बढाइएको हो।
कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकअन्तर्गत घुमाउनेतालदेखि पिप्ले हुँदै गाउँपालिका केन्द्र मौवाफाँटसम्मको ६ किलोमिटर ४०० मिटर सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले ८० प्रतिशत र गाउँपालिकाभित्र निर्माण सम्पन्न तथा निर्माणाधीन अन्य जलविद्युत् आयोजनाले २० प्रतिशत लागत व्यहोर्नेगरी योजना अघि बढाइएको हो।
घुमाउनेतालदेखि पिप्ले हुँदै मौवाफाँट चोकसम्मको सडक कालोपत्र गरिनेछ भने मौवाफाँटदेखि बुक्ल–बाँधस्थल खण्डमा ग्राभेल गर्ने र खोल्साहरूमा कलभर्ट निर्माण गर्ने योजना रहेको अध्यक्ष भण्डारीले बताए ।
दुई दशकअघि मार्ग खुलेको उक्त सडक साँघुरो, जीर्ण र कच्ची अवस्थामा रहेकाले घुम्ती सुधार, नाली, पर्खाल तथा ग्यावियन निर्माण गरी सडक फराकिलो पारेर कालोपत्र गर्न लागिएको हो।
जलविद्युत् आयोजनाहरूले आफ्नो पहुँच मार्गका रूपमा प्रयोग गर्दै आएको सडक स्तरोन्नतिका लागि गाउँपालिकाले लामो समयदेखि पहल गर्दै आएको थियो। गाउँपालिकाको संयोजनमा एक वर्षअघि राजनीतिक दल, सरोकारवाला तथा जनप्रतिनिधिबीच भएको छलफलमा जलविद्युत् आयोजनाहरूले पहुँच मार्गका रूपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार अहिले सडक स्तरोन्नति तथा कालोपत्रको काम अघि बढेको अध्यक्ष भण्डारीले बताए ।
हाल रघुगङ्गा हाइड्रोपावरले सडक फराकिलो पार्ने, नाली निर्माण गर्ने र सवबेस हाल्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए । उनका अनुसार राहुघाट जलविद्युत् आयोजनाले कालोपत्रबाहेकका सम्पूर्ण काम गर्नेछ भने अन्य जलविद्युत् आयोजनाले कालोपत्रका लागि लाग्ने खर्चको २० प्रतिशत लागत व्यहोर्नेगरी सम्झौता भएको छ।
सडक स्तरोन्नतिको काम आगामी कात्तिक १५ गतेसम्म सम्पन्न गर्नेगरी आयोजनासँग लिखित सम्झौता गरिएको पौडेलले बताए ।
सडक स्तरोन्नतिसहित कालोपत्र सम्पन्न भएपछि रघुगङ्गा गाउँपालिकाका आठवटै वडाका बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। सडकले स्थानीय बासिन्दासँगै जलविद्युत् आयोजनाका लागि आवश्यक निर्माण सामग्री तथा उपकरणको ढुवानीमा समेत सहजता ल्याउने जनाइएको छ।
रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, २१.३ मेगावाटको ठूलोखोला र २२.५ मेगावाटको माथिल्लो ठूलोखोला ‘ए’ लगायतका जलविद्युत् आयोजना सञ्चालनमा छन्।
४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले भने परीक्षण उत्पादनको तयारी गरिरहेको छ। जलविद्युत् आयोजनाको बढ्दो गतिविधिसँगै स्थानीय सडक पूर्वाधारको स्तरोन्नति आवश्यक बन्दै गएको अवस्थामा आयोजनाहरूको लागत साझेदारीमा सडक कालोपत्र हुन लागेको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तिब्बतबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षति, प्रहरी कार्यालयसहित जलविद्युत् आयोजनामा क्षति
-
बरुण नदीमा जलविद्युत् आयोजना निर्माण अनुमति नदिन प्रधानमन्त्री कार्यालयलाई जिससको आग्रह
-
जलविद्युत् आयोजनाको सहयोगमा सडक कालोपत्र गरिँदै
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा
-
नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम ४ अर्ब नाघ्यो
-
अपर हेवाखोलालाई ५२ करोड ५० लाखको हकप्रद निष्काशन गर्न स्वीकृति