सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नुप्चे–लिखु जलविद्युत् आयोजना ९३.८३ प्रतिशत सम्पन्न, २०८२ चैतभित्र व्यावसायिक उत्पादनको तयारी

जलसरोकार
शनिबार, माघ १७, २०८२ | १३:५८:१९ बजे

काठमाडौं :  रामेछाप जिल्लामा निर्माणाधीन ५७.५ मेगावाट क्षमताको नुप्चे -लिखु जलविद्युत् आयोजना भौतिक रूपमा ९३.८३ प्रतिशत सम्पन्न भएको छ। आयोजना प्रवर्द्धक कम्पनी भिजन इनर्जी एण्ड पावर लिमिटेडले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरण अनुसार हालसम्म कुल बजेटको करिब ८९.९० प्रतिशत रकम खर्च भइसकेको छ, जबकि समग्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले कार्तिकदेखि पुस २०८२ सम्मको अवधिको प्रगति समेटिएको रिपोर्टमा आयोजना निर्धारित संशोधित समयसीमाभित्रै व्यावसायिक उत्पादन (COD) मा लैजाने तयारी तीव्र पारेको जनाएको छ।

सुरुङ र सिभिल संरचना अन्तिम चरणमा

आयोजनाको सबैभन्दा जटिल मानिने हेडरेस टनेल (HRT) को उत्खनन कार्य पूर्ण भइसकेको छ भने टनेल फिनिसिङ कार्य औसत ६९ प्रतिशत सम्पन्न भएको छ। समग्र टनेल शटक्रिट ९४ प्रतिशतभन्दा बढी पूरा भइसकेको छ। इनभर्ट लाइनिङ र रिब सेग्मेन्ट लाइनिङ पनि चरणबद्ध रूपमा अगाडि बढिरहेको छ ।

Likhu र Nupche दुबै हेडवर्क्सको सिभिल संरचना लगभग समाप्त भएको कम्पनीले जनाएको छ। Likhu Headworks तर्फ ९९ प्रतिशतभन्दा बढी प्रगति भइसकेको छ भने इन्टेक, सेटलिङ बेसिन, फ्लडवाल, भल्भ हाउस तथा टेलरेस क्यानाल सम्बन्धी कामहरू अन्तिम चरणमा छन् ।

पेनस्टक, एंकर ब्लक र भर्टिकल शाफ्ट

आयोजनाको पेनस्टक अलाइनमेन्टमा २७ मध्ये २५ वटा एंकर ब्लक निर्माण सम्पन्न भइसकेका छन्। Likhu हेडरेस पाइप अलाइनमेन्टमा भने सबै २० वटै एंकर ब्लक पूरा भएका छन्। Nupche तर्फ ९ मध्ये ८ एंकर ब्लक सम्पन्न भई एउटा अन्तिम चरणमा रहेको रिपोर्टमा उल्लेख छ ।

भर्टिकल शाफ्टमा २२१ मिटर र पेनस्टक टनेलमा ५०० मिटरसम्म कंक्रिटिङ सम्पन्न भइसकेको छ, जुन आयोजनाको उच्च हेड र जटिल संरचनाका कारण प्राविधिक रूपमा महत्त्वपूर्ण उपलब्धि मानिन्छ।

इलेक्ट्रो -मेकानिकल र हाइड्रो -मेकानिकलतर्फ तीव्र गति

इलेक्ट्रो -मेकानिकल (EM) कार्य ९२.५३ प्रतिशत सम्पन्न भएको छ। तीनमध्ये एक युनिटको टर्बाइन, हाउसिङ र जेनेरेटर जडान सम्पन्न भइसकेको छ भने बाँकी युनिटहरूको इरेक्शन कार्य जारी छ। मुख्य ट्रान्सफर्मर एसेम्ब्ली र पावरहाउसको प्रोटेक्सन प्यानल जडान भइसकेको कम्पनीले जनाएको छ ।

हाइड्रो -मेकानिकल (HM) कार्यतर्फ पनि उल्लेखनीय प्रगति देखिएको छ। समग्र HM काम ९३ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। पेनस्टक पाइप इरेक्शन ९४ प्रतिशत पूरा भइसकेको छ भने Likhu HRP मा करिब पूर्ण र Nupche HRP मा ८२ प्रतिशतभन्दा बढी काम सकिएको छ ।

प्रसारण लाइनमा ८९ प्रतिशत प्रगति

आयोजनासँग जोडिएको २४ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण ८९.१६ प्रतिशत सम्पन्न भएको छ। टावर फाउन्डेसन, कंक्रिटिङ र टावर इरेक्शन कार्य लगभग समाप्त भइसकेको छ। तर स्ट्रिङिङ कार्य करिब ३४ प्रतिशतमा सीमित रहेको जनाइएको छ, जसलाई आगामी महिनाहरूमा तीव्र पारिने योजना छ ।

चुनौती र व्यवस्थापन

रिपोर्टमा आयोजनाले सामना गरेका मुख्य चुनौतीहरू पनि उल्लेख गरिएको छ। इलेक्ट्रो -मेकानिकल उपकरण ढुवानीमा ढिलाइ, जाडो मौसमका कारण साइटमा उत्पन्न कठिनाइ, स्थानीय तहका माग, भौगोलिक जटिलता र पछिल्लो समयको राजनीतिक परिस्थितिले आपूर्ति श्रृंखलामा पारेको असर प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ।
कम्पनीले यी समस्यालाई व्यवस्थापन गर्न स्थानीय समन्वय, उपकरण तथा जनशक्ति परिचालन, वैकल्पिक कार्यतालिका र सामग्री अग्रिम भण्डारणजस्ता उपाय अपनाएको जनाएको छ ।

२०८२ चैतभित्र COD लक्ष्य

नवीनतम संशोधित कार्यतालिका अनुसार आयोजनाको व्यावसायिक उत्पादन मिति २०८२ चैत ३० (१३ अप्रिल २०२६) तोकिएको छ। अबको मुख्य काममा सबै सुरुङ फिनिसिङ, बाँकी टर्बाइन -जेनेरेटर जडान, पेनस्टक तथा भर्टिकल शाफ्टको पूर्ण इरेक्शन र प्रसारण लाइनको स्ट्रिङिङ समापन पर्नेछ ।

उच्च हेड (लगभग १००६ मिटर) र वार्षिक करिब ३८१ गिगावाट -घण्टा विद्युत् उत्पादन क्षमतासहित नुप्चे -लिखु आयोजना सम्पन्न भएपछि राष्ट्रिय ग्रिडमा उल्लेखनीय ऊर्जा थपिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : शनिबार, माघ १७, २०८२ | १३:५८:१९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया