नेपाल हाइड्रोपावर एसोसिएसनको २४औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती सम्पन्न, नयाँ कार्यसमिति चयन
जलसरोकार
ललितपुर । नेपाल हाइड्रोपावर एसोसिएसन (एनएचए) को २४औँ वार्षिक साधारण सभा तथा स्थापनाको २५औँ वर्षगाँठ (रजत जयन्ती) ललितपुरस्थित स्क्वायर होटलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा एसोसिएसनका सदस्यहरू, जलविद्युत् क्षेत्रका विज्ञ तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
साधारण सभाले एनएचएको २५औँ कार्यसमिति चयन गरेको छ। नव-निर्वाचित कार्यसमितिको अध्यक्षमा अरुण रजौरिया चयन भएका छन्। उपाध्यक्षमा नसिब मान सिंह प्रधान, महासचिवमा निर्मला लामा चन्द, सचिवमा कृष्णबहादुर कुमाल र कोषाध्यक्षमा प्रतिमा श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरूमा सम्झना छुश्याबाग, रीतु श्रेष्ठ, शिवराम केसी, रियाज श्रेष्ठ, सन्तोष अधिकारी र बसन्त ध्वज श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा जलविद्युत् क्षेत्रको विकास, निजी क्षेत्रको भूमिका, तथा आगामी चुनौती र अवसरका विषयमा आ-आफ्ना धारणा राखेका थिए। विश्व बैंकका सिनियर हाइड्रोपावर स्पेसलिस्ट तथा एनएचएका संस्थापक सदस्य प्रविण काकीले विगत २५ वर्षमा एनएचएले जलविद्युत् विकासमा पुर्याएको योगदानको स्मरण गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

साधारण सभा सम्पन्न भएपछि आयोजित विशेष कार्यक्रममा “नेपाल हाइड्रोपावर डाटाबेस २०२५” को औपचारिक रूपमा सार्वजनिक अनावरण गरिएको छ। उक्त डाटाबेस ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमको प्रमुख आतिथ्यमा, हाइड्रो ल्याबका महाप्रबन्धक डा. मेघ बी. विश्वकर्मा, एनएचएका सल्लाहकार अधिवक्ता मरुली प्रसाद शर्मा तथा एनएचएका अध्यक्ष अरुण रजौरियाले संयुक्त रूपमा अनावरण गरेका थिए ।
वक्ताहरूले “नेपाल हाइड्रोपावर डाटाबेस २०२५” ले देशका जलविद्युत् परियोजनासम्बन्धी तथ्यांकलाई एकीकृत, अद्यावधिक र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। यसले नीति निर्माण, लगानी प्रवर्द्धन तथा अनुसन्धानमा उल्लेखनीय सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमकै अवसरमा एनएचए स्थापनाको २५औँ वर्षगाँठ केक काटेर हर्षोल्लासका साथ मनाइएको थियो। साथै, जलविद्युत् क्षेत्रको दिगो विकासका लागि सरकारी निकाय, निजी क्षेत्र तथा अनुसन्धान संस्थाबीच सहकार्य अपरिहार्य रहेकोमा वक्ताहरूले जोड दिएका थिए ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार