सप्तरीको पनसेरामा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्ता लाभान्वित हुने
जलसरोकार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका-पनसेरामा निर्माण सम्पन्न गरेको ३३/११ केभी, ६/८ एमभीए क्षमताको नयाँ सबस्टेसन सञ्चालनमा ल्याएको छ। बुधबार साँझदेखि सञ्चालनमा आएको सबस्टेसनबाट खड्क र सुरुंगा नगरपालिकाका करिब १५ हजार विद्युत् उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने प्राधिकरणले जनाएको छ।
करिब १२ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी वितरण लाइन समेत निर्माण गरिएको छ। सबस्टेसन सञ्चालनमा आएसँगै खड्क नगरपालिका तथा सुरुंगा नगरपालिकाका कदमाहा, लालपट्टा, कल्याणपुरलगायत क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।
प्राधिकरणका अनुसार नयाँ सबस्टेसनले ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको कम भोल्टेज, बारम्बार लाइन ट्रिप हुने तथा विद्युत् आपूर्तिमा हुने अवरोध न्यूनीकरण गर्न सहयोग गर्नेछ। यससँगै भोल्टेज प्रोफाइलमा सुधार भई उपभोक्ताले थप स्थिर, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पाउने प्राधिकरणको विश्वास छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्तश्रेष्ठ ले मधेस प्रदेशमा विद्युत् सेवाको गुणस्तर सुधार गर्ने दिशामा नयाँ सबस्टेसन सञ्चालन महत्वपूर्ण उपलब्धि भएको बताए। उनले विद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण प्रणालीलाई आधुनिक, सुरक्षित र भरपर्दो बनाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गरे।
मधेस प्रदेशका विभिन्न जिल्लामा पछिल्ला वर्षहरूमा विद्युत् माग बढ्दै गएसँगै वितरण प्रणाली सुदृढीकरणका लागि नेपाल विद्युत् प्राधिकरणले नयाँ सबस्टेसन निर्माण, वितरण लाइन विस्तार तथा क्षमता अभिवृद्धिका कार्यक्रम अघि बढाइरहेको छ। प्राधिकरणका अनुसार यस्ता पूर्वाधार विस्तारले विद्युत् आपूर्तिको विश्वसनीयता बढाउनुका साथै घरेलु, व्यावसायिक र औद्योगिक उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पृष्ठभूमि
- सबस्टेसन क्षमता : ६/८ एमभीए
- लागत : करिब १२ करोड रुपैयाँ
- नयाँ ११ केभी लाइन : १० किमि
- लाभान्वित उपभोक्ता : करिब १५ हजार
- सेवा क्षेत्र : खड्क र सुरुंगा नगरपालिका
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
-
पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी
-
पञ्चेश्वरमा सहमतिको संकेत, नेपालले भारतसमक्ष ३०:७० लागत बाँडफाँट प्रस्ताव गर्ने
-
विद्युत् महसुल पुनरावलोकन गर्दै प्राधिकरण, नयाँ दर प्रस्तावका लागि १५ दिने समिति गठन
-
रसुवागढीका नयाँ सीइओका १० प्रमुख चुनौती
-
रसुवागढी जलविद्युत् सञ्चित घाटामा, नोक्सानी बढेर ८१ करोड रुपैयाँ नाघ्यो