सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऊर्जा खपत वृद्धि र निर्यात प्रवर्द्धनका लागि नयाँ रणनीति पेश

जलसरोकार
बिहीबार, वैशाख १०, २०८३ | १४:५२:४३ बजे

 

काठमाडौँ : आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ समक्ष पेश गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त रणनीति बिहीबार पेश गरिएको हो।

मन्त्रिपरिषद्बाट चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत ऊर्जा खपत र निर्यात रणनीति तयार गर्न उच्चस्तरीय समिति गठन गरिएको थियो।

रणनीतिले विद्युत्‌काे आन्तरिक खपत उल्लेख्य रूपमा बढाउँदै खपतपछि बचत हुने ऊर्जा निर्यात प्रवर्द्धन गर्ने दीर्घकालीन मार्गचित्र प्रस्तुत गरेको छ। शतप्रतिशत घरधुरीमा विद्युतीकरण, प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण र विद्युतीय उपकरणको प्रयोग विस्तारमा जोड दिइएको छ।

त्यसैगरी एलपी ग्यासको प्रयोग घटाउँदै विद्युतीय उपकरणतर्फ आकर्षण बढाउने, मिटर तथा ट्रान्सफर्मर क्षमता विस्तार गर्ने तथा उद्योगमा कोइला र पेट्रोलियममा आधारित प्रणालीलाई विद्युतीय प्रविधिबाट प्रतिस्थापन गर्ने नीति समावेश गरिएको छ।

रणनीतिमा हाल प्रतिव्यक्ति करिब ४५० किलोवाट आवर रहेको ऊर्जा खपत आगामी १० वर्षभित्र १,५०० किलोवाट आवरसम्म पुर्‍याउने लक्ष्य राखिएको छ। सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढाउन र चार्जिङ स्टेशनको सञ्जाल विस्तार गर्न पनि सुझाव दिइएको छ।

ऊर्जा खपत वृद्धिका लागि उपभोक्ता मैत्री ‘सिजनल’ विद्युत महसुल निर्धारण गर्ने प्रस्ताव गरिएको छ, जसले ऊर्जा उपयोग दक्षता बढाउनुका साथै व्यापार घाटा घटाउन र विदेशी मुद्रा सञ्चिति मजबुत बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।

उत्पादनतर्फ जलाशययुक्त तथा अर्ध–जलाशययुक्त जलविद्युत आयोजनाको हिस्सा बढाएर सुक्खा र वर्षायामबीचको उत्पादन असन्तुलन घटाउने लक्ष्य राखिएको छ। साथै, अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा विद्युत् निर्यात विस्तार गर्दै आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य निर्धारण गरिएको छ।

रणनीतिले जोखिम व्यवस्थापन, निजी क्षेत्रको सहभागिता विस्तार तथा नेपाल विद्युत प्राधिकरण मा संरचनात्मक सुधारमार्फत कार्यक्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ।

यस रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि कडा अनुगमन प्रणाली अपनाउने र कार्यसम्पादनका आधारमा जिम्मेवारी सुनिश्चित गरिने जनाइएको छ।

 

 

प्रकाशित मिति : बिहीबार, वैशाख १०, २०८३ | १४:५२:४३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया