सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कार्बन व्यापारबाट ९ करोडभन्दा बढी आम्दानी, १० लाख घरधुरीलाई लाभ पुग्ने नयाँ कार्यक्रम सञ्चालनमा

जलसरोकार
मंगलबार, कात्तिक १८, २०८२ | १५:५१:३२ बजे

काठमाडौं : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) ले गत आर्थिक वर्षमा देशभर नवीकरणीय ऊर्जा प्रविधिको उल्लेखनीय विस्तार गर्दै स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धिमा महत्त्वपूर्ण उपलब्धी हासिल गरेको छ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै ४०२ किलोवाट क्षमताका लघु तथा साना जलविद्युत आयोजना सञ्चालनमा आएका छन्। त्यसैगरी ४,१४२ घरधुरीमा घरेलु सौर्य प्रणाली, ३७८ किलोवाट पिक क्षमताका सौर्य मिनीग्रिड आयोजना, १२,६८६ सौर्य रुफटप प्रणाली र १०७ मठ–मन्दिर तथा होमस्टेहरूमा सौर्य ऊर्जा जडान सम्पन्न भएको छ।

गत वर्ष देशभर ५८९ सौर्य खानेपानी तथा सिंचाइ परियोजना, २०८ संस्थागत सौर्य प्रणाली, २३,१०० विद्युतीय चुलो, २४,३२० फलामे सुधारिएको चुलो, ४,३८६ घरायसी बायोग्यास प्लान्ट र ९ ठूला क्षमताका बायोग्यास आयोजना सम्पन्न गरिएका छन्।

स्वच्छ ऊर्जाको प्रवर्द्धनसँगै केन्द्रले वातावरणीय दृष्टिले समेत महत्वपूर्ण प्रगति हासिल गरेको छ। नवीकरणीय ऊर्जा प्रविधिको कार्यान्वयनबाट गत आर्थिक वर्षमा मात्र १ लाख २६ हजार ९१४ मेट्रिक टन कार्बन उत्सर्जन न्यूनीकरण गरिएको र त्यसबाट कार्बन व्यापारमार्फत करिब ६ लाख ६० हजार अमेरिकी डलर (करीब ९ करोड २४ लाख रुपैयाँ) आम्दानी भएको केन्द्रले जनाएको छ।

स्वच्छ विकास संयन्त्र (CDM) अन्तर्गत ८ वटा आयोजनाबाट हालसम्म कूल ६६ लाख ८० हजार मेट्रिक टन कार्बन उत्सर्जन घटाई करिब ३६.०११ मिलियन अमेरिकी डलर (झण्डै ५ अर्ब ४ करोड रुपैयाँ) आम्दानी भइसकेको छ। यी परियोजनाबाट भविष्यमा अझै थप आम्दानी हुने सुनिश्चितता रहेको केन्द्रको भनाइ छ।

केन्द्रले गत वर्ष अध्ययन, अनुसन्धान, प्रविधि विकास तथा प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि सम्बन्धी विविध कार्यक्रमहरू पनि सञ्चालन गरेको छ।

त्यस्तै, हरित जलवायु कोष (Green Climate Fund–GCF) को सहयोगमा तराईका २२ जिल्लाका १५० स्थानीय तहमा स्वच्छ खाना पकाउने ऊर्जा कार्यक्रम कार्यान्वयन भइरहेको छ। पाँच वर्षभित्र ५ लाख विद्युतीय चुलो, ४ लाख ९० हजार सुधारिएको चुलो र १० हजार घरायसी बायोग्यास प्लान्ट जडान गर्ने लक्ष्य रहेको यस कार्यक्रमबाट करिब १० लाख घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ।

केन्द्रले “हरित जलवायु कोष–रेडिनेस एण्ड प्रिपेरेटरी सपोर्ट प्रोग्राम” अन्तर्गत सम्बन्धित सरोकारवालाको क्षमता अभिवृद्धिमा केन्द्रित क्रियाकलापहरू पनि सम्पन्न गरेको जनाएको छ।

हालसम्म वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले देशभर करिब ३७ लाख घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा सेवा पुर्‍याइसकेको छ। अहिले देशको कुल विद्युत पहुँचमा नवीकरणीय ऊर्जाको हिस्सा करिब ८.५ प्रतिशत पुगेको छ।
केन्द्रका अनुसार हाल नवीकरणीय ऊर्जा क्षेत्रमा ५०० भन्दा बढी कम्पनी क्रियाशील छन्, जसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा करिब ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ।

प्रकाशित मिति : मंगलबार, कात्तिक १८, २०८२ | १५:५१:३२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया