सेयर बजार ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विभागको लक्ष्य पूरा हुने गरी काम गरौं : महानिर्देशक मित्र बराल

जलसरोकार
आइतबार, साउन १८, २०८२ | १९:१४:५२ बजे

काठमाडौं : जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले विभागको ३०औँ महानिर्देशकका रूपमा आज पदबहाली गरेका छन्।

नेपाल टेलिकममा भवन निर्माण इन्जिनियरका रूपमा सेवा प्रारम्भ गरेका बरालले २०५१ सालदेखि जलस्रोत तथा सिँचाइ विभागमा काम गर्न थालेका हुन्। विभागअन्तर्गतका ठूला सिँचाइ आयोजना सञ्चालनमा उनको पर्याप्त अनुभव छ, जसका आधारमा उनी जलस्रोत तथा सिँचाइ क्षेत्रका अनुभवी तथा विज्ञको रूपमा चिनिन्छन्। यस क्षेत्रमा उनले ३१ वर्षभन्दा बढीको अनुभव सँगालेका छन्।

पदबहालीअघि नवनियुक्त महानिर्देशक मित्र बराल र उपमहानिर्देशक दिनेश रजौरियालाई विभागमा औपचारिक रूपमा स्वागत गरिएको थियो भने निवर्तमान महानिर्देशक सञ्जीव बराललाई विदाई गरिएको थियो।

‘परिणाम देखिने गरी काम गरौं’

स्वागत कार्यक्रममा बोल्दै महानिर्देशक बरालले विभागका सम्पूर्ण कर्मचारीहरूलाई परिणाममुखी कार्यशैलीमा अघि बढ्न निर्देशन दिए। उनले भने, “हामीसँग पर्याप्त पूँजी छ, दक्ष जनशक्ति छ, सूचना प्रविधि छ, यातायातको सुविधा छ, त्यसैगरी आयोजना छिटो सम्पन्न गर्ने एडभान्स टेक्नोलोजी पनि छ। यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्ने बाहेक अन्य कुनै बहानाबाजी गर्नु हुँदैन।”

उनले मन्त्रालयको स्पष्ट निर्देशन रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्न उच्च तहदेखि तल्लो तहसम्मका सबै कर्मचारीहरू जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरे। “टिम इफोर्ट बिना कुनै पनि काम सफल हुँदैन,” उनले भने, “त्यसैले हामी सबैले एउटै टोलीको भावना (team spirit) लिएर अहोरात्र खटिनुपर्छ।”

आयोजनाबाट प्राप्त अनुभवको सेयर

बरालले देशभरका विभिन्न आयोजनामा काम गर्दा प्राप्त अनुभव सुनाउँदै उपत्यका बाहिर ९ वर्ष कार्यरत रहेपछि मात्रै विभागको कार्यालय काठमाडौं फर्किएको उल्लेख गरे। अहिले आर्थिक वर्षको प्रारम्भिक चरण भएकाले टिम स्प्रिटका साथ काम गरेमा असम्भव केही नहुने विश्वास उनले व्यक्त गरे।

टेण्डरमा ढिलाइप्रति चिन्ता

बरालले आर्थिक वर्ष सुरु भएको आधा महिना बितिसक्दा पनि विभागअन्तर्गतका आयोजनामध्ये दुईवटाको मात्र टेण्डर खुलेको भन्दै चिन्ता व्यक्त गरे। “हामी सर्वसुविधासम्पन्न भइसकेका छौं, अब अडकलेर बस्ने समय होइन,” उनले भने।

गौरवका आयोजनालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता

राष्ट्रिय गौरवका आयोजनाहरूलाई केवल कागजमै सीमित नराखी, छिट्टै प्रतिफल जनताले उपभोग गर्न पाउने गरी समयमै कार्यान्वयनमा ल्याउनुपर्ने उनको जोड थियो।

तराईमा सिँचाइ अभावसम्बन्धी योजना

महानिर्देशक बरालले तराईमा सिँचाइको अभावका कारण खेतीयोग्य जमिन बाँझै रहेको भन्दै त्यसको समाधान दुई चरणमा—फास्ट ट्र्याक र दीर्घकालीन उपायमार्फत गर्न सकिने बताए।

६०१ दरबन्दीको सदुपयोगमा जोड

विभागमा ६०१ दरबन्दी रहेको उल्लेख गर्दै उनले सबै कर्मचारी जिम्मेवार भएर विभागका लक्ष्य र उद्देश्य पूरा गर्न लाग्नुपर्ने बताए।

उनले विभागको लक्ष्यबारे जानकारी दिँदै भने— “एकीकृत जलस्रोत व्यवस्थापनमार्फत सन्तुलित, स्थिर तथा दिगो आर्थिक विकास हासिल गर्नु, संरचनागत तथा गैर–संरचनागत उपायबाट जलाधार व्यवस्थापन र जलजन्य प्रकोपको न्यूनीकरण गर्नु, कृषियोग्य भूमिमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी गरिबी निवारणमा टेवा पु¥याउनु विभागको दायित्व हो।”

निवर्तमान महानिर्देशकको भनाइ

कार्यक्रममा निवर्तमान महानिर्देशक सञ्जीव बरालले “सिँचाइ प्रणालीप्रति राम्रो समझ भएका नयाँ महानिर्देशक पाएकोमा विभाग भाग्यमानी भएको” बताए। उनले कार्यकालमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै “अब बजेट वा अन्य अभाव देखाएर काम नगर्ने संस्कार स्थापित हुनु जरुरी छ” भने।

कार्यक्रममा उपमहानिर्देशक सन्तोष कैनीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन विभागका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पौडेलले गरेका थिए।

प्रकाशित मिति : आइतबार, साउन १८, २०८२ | १९:१४:५२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया