कारोबार रकम घट्दा नेप्सेमा सामान्य सुधार
लगानीकर्ता अझै ‘पर्ख र हेर’ रणनीतिमा
जलसरोकार
काठमाडौं : साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । अघिल्ला दिनको उतारचढावपछि सोमबार बजार १.७७ अंकले बढेर २ हजार ७३१ दशमलव ९४ विन्दुमा पुगेको हो ।
कारोबार रकम भने घटेको छ । दिनभर ७९ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम करिब ३ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ । कारोबार संख्या ४३ हजारभन्दा बढी रहेको बजार विवरणमा उल्लेख छ ।
सोमबार बजारमा मिश्रित प्रवृत्ति देखिएको छ । बैंकिङ, होटल तथा पर्यटन, फाइनान्स, जलविद्युत्, निर्जीवन बीमा र ट्रेडिङ समूहमा हरियाली देखिए पनि विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूह दबाबमा रहे ।
विशेषगरी जलविद्युत् र बैंकिङ क्षेत्रमा लगानीकर्ताको चासो देखिए पनि बजारमा ठूलो उत्साह भने देखिएको छैन । विश्लेषकहरूका अनुसार लगानीकर्ता अझै पनि नीतिगत संकेत, ब्याजदरको अवस्था र नयाँ पूँजी प्रवाहको प्रतीक्षामा रहेका कारण बजारमा ‘पर्ख र हेर’को मनोविज्ञान कायम छ ।
पछिल्ला दिनमा नेप्सेमा तीव्र उतारचढाव देखिँदै आएको छ । गत साता एक दिन ३८ अंकभन्दा बढीले उकालो लागेको बजार अर्को कारोबार दिन झण्डै ४० अंकले घटेको थियो ।
बजारमा स्थायित्व आउन अझै समय लाग्ने देखिए पनि कारोबार रकम ३ अर्ब रुपैयाँभन्दा माथि रहनु सकारात्मक संकेतका रूपमा हेरिएको छ । विश्लेषकहरूका अनुसार आगामी दिनमा बैंकिङ तरलता, मौद्रिक नीतिको संकेत तथा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणले बजारको दिशा निर्धारण गर्नेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य