सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्सेमा उच्च गिरावट, ४६.७८ अंकले घट्दा कारोबार रकम पनि घट्यो

जलसरोकार
बुधबार, फागुन २७, २०८२ | १५:२०:३१ बजे

 

काठमाडौँ : साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार पनि गिरावट आएको बजारले बुधबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ४६.७८ अंकले घट्दै २७९६.५७ विन्दुमा झरेको छ। बजारसँगै सेन्सेटिभ इन्डेक्स ८.३२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ३.२४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.९४ अंकले ओरालो लागेको छ। बजारमा सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ, जसले लगानीकर्ताको मनोबल केही कमजोर भएको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

मंगलबार करिब २१ अर्ब ५० करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा बुधबार भने कारोबार रकम घटेर १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ। यस दिन ३२९ कम्पनीका ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर १ लाख १५ हजार ५५० पटकको कारोबारमार्फत किनबेच भएका छन्।

कारोबारका क्रममा केही कम्पनीका शेयर भने उल्लेख्य रूपमा बढेका छन्। सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै प्रतिकित्ता ७८ रुपैयाँ ४० पैसा बढेर ८६२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै नेशनल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यता गिरावटतर्फ भने कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८.४७ प्रतिशतले घटेको हो।

कारोबार रकमका आधारमा भने रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। त्यस्तै आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम पनि साढे ४९ करोड रुपैयाँ नाघेको छ।

उपसमूहतर्फ हेर्दा बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूह मात्रै बढेको छ। म्युचुअल फण्ड उपसमूह सामान्य रूपमा बढ्दा अन्य अधिकांश उपसमूहमा गिरावट देखिएको हो। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४० प्रतिशतले घटेको छ भने वित्त उपसमूह २ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। साथै बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त तथा अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

लगातार दोस्रो दिन बजारमा आएको गिरावटले अल्पकालीन रूपमा लगानीकर्तामा सावधानी बढेको देखिएको छ। विश्लेषकहरूका अनुसार पछिल्लो समय बजारमा तीव्र उतारचढाव देखिएकाले लगानीकर्ताले कम्पनीको आधारभूत अवस्था तथा दीर्घकालीन सम्भावनालाई ध्यानमा राखेर लगानी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

प्रकाशित मिति : बुधबार, फागुन २७, २०८२ | १५:२०:३१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया