सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आज नेपालको विद्युत् माग ३ करोड ८६ लाख २३ हजार युनिट पुग्यो, निजी क्षेत्रको योगदान ४२.५ प्रतिशत

जलसरोकार
बिहीबार, फागुन ०७, २०८२ | १०:१७:५३ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको आजको प्रणालीगत विवरणले देशको विद्युत् माग निरन्तर बढिरहेको देखाएको छ। आज देशभर कुल ऊर्जा माग ३८,६२३ मेगावाट-घण्टा (३८,६२३,००० किलोवाट-घण्टा अर्थात् ३ करोड ८६ लाख २३ हजार युनिट) पुगेको छ भने साँझको चरम समयमा विद्युत् माग २,२३८ मेगावाट (MW) सम्म उक्लिएको प्राधिकरणको तथ्यांकले जनाएको छ।

विद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भइरहेका बेला पनि आजको अवस्था हेर्दा नेपाल अझै पनि आयातीत विद्युत्‌मा ठूलो मात्रामा निर्भर रहेको स्पष्ट देखिन्छ। कुल मागमध्ये करिब एक तिहाइ हिस्सा भारतबाट आयात गरेर व्यवस्थापन गर्नुपरेको तथ्यांकले संकेत गरेको छ।

आजको दिनमा नेपाल विद्युत् प्राधिकरणले आफ्नै प्रणालीबाट ५,५८१ मेगावाट-घण्टा (५,५८१,००० किलोवाट-घण्टा अर्थात् ५५ लाख ८१ हजार युनिट) ऊर्जा आपूर्ति गरेको छ। त्यसैगरी प्राधिकरणका सहायक कम्पनीहरूबाट थप ५,६०० मेगावाट-घण्टा (५,६००,००० किलोवाट-घण्टा अर्थात् ५६ लाख युनिट) विद्युत् प्रणालीमा जोडिएको छ।

तर सबैभन्दा ठूलो योगदान भने निजी क्षेत्रका स्वतन्त्र विद्युत् उत्पादक (IPP) बाट आएको छ। आज IPP हरूले कुल १६,४३२ मेगावाट-घण्टा (१६,४३२,००० किलोवाट-घण्टा अर्थात् १ करोड ६४ लाख ३२ हजार युनिट) ऊर्जा आपूर्ति गरेका छन्।

यसले नेपालको विद्युत् संरचना क्रमशः निजी उत्पादनमा आधारित हुँदै गएको देखाउँछ। पछिल्ला वर्षहरूमा निजी जलविद्युत् आयोजनाहरू तीव्र गतिमा सञ्चालनमा आउँदा IPP प्रणालीको backbone बन्दै गएको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्।

तर यति ठूलो आन्तरिक उत्पादन हुँदाहुँदै पनि आज नेपालले भारतबाट १०,७११ मेगावाट-घण्टा (१०,७११,००० किलोवाट-घण्टा अर्थात् १ करोड ७ लाख ११ हजार युनिट) विद्युत् आयात गरेको छ। कुल मागको करिब २८ प्रतिशत हिस्सा आयातबाट पूर्ति गरिएको देखिन्छ।

विशेषगरी गर्मी याममा औद्योगिक गतिविधि र शहरी उपभोग बढ्दा मागको चरम अवस्था सिर्जना हुने गरेको छ। यस्तो समयमा पर्याप्त जलाशययुक्त (storage) आयोजना र बलियो प्रसारण  प्रणाली नहुँदा नेपालले छिमेकी देशको आपूर्तिमा भर पर्नुपर्ने अवस्था देखिएको हो ।

आजको प्रणालीमा थप एउटा महत्वपूर्ण पक्ष भनेको ३०० मेगावाट-घण्टा (३००,००० किलोवाट-घण्टा अर्थात् ३ लाख युनिट) ऊर्जा अवरोध (Interruption) हो। यद्यपि यो कुल मागको तुलनामा सानो हिस्सा भए पनि पिक समयमा यस्ता अवरोधले उद्योग, व्यापार र उपभोक्तामा प्रत्यक्ष असर पार्न सक्छ।

समग्रमा हेर्दा आजको विद्युत् माग व्यवस्थापनमा निजी क्षेत्रको भूमिका निर्णायक बन्दै गएको छ भने आयात निर्भरता अझै हट्न सकेको छैन। उत्पादन वृद्धि मात्र पर्याप्त नभई प्रसारण प्रणााली विस्तार, जलाशययुक्त आयोजना निर्माण तथा पिक लोड व्यवस्थापन रणनीति प्रभावकारी बनाउनुपर्ने आवश्यकता आजको तथ्यांकले पुनः उजागर गरेको छ।

नेपालले विद्युत् निर्यातको सम्भावना र अवसरबारे बहस गरिरहेको सन्दर्भमा दैनिक प्रणालीले अझै पनि आयातको ठूलो हिस्सा बोकेको देखिनुले ऊर्जा आत्मनिर्भरता हासिल गर्न संरचनागत सुधार अपरिहार्य रहेको स्पष्ट हुन्छ।

प्रकाशित मिति : बिहीबार, फागुन ०७, २०८२ | १०:१७:५३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया