मेगावाट होइन, ऊर्जा खपतबाट समृद्धि मापन गर्ने युगमा नेपाल प्रवेश गर्नुपर्छ : सांसद न्यौपाने
जलसरोकार
काठमाडौं : प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले नेपाल अब केवल विद्युत् उत्पादनको संख्या गन्ने चरणमा सीमित नरही ऊर्जा खपत वृद्धि, विद्युतीकरण विस्तार र ऊर्जा आधारित अर्थतन्त्र निर्माणतर्फ अघि बढ्नुपर्ने बताएका छन्। उनले “मेगावाट गन्ने युग” बाट “ऊर्जा खपतबाट समृद्धि मापन गर्ने युग” मा प्रवेश गर्नुपर्ने धारणा राखेका हुन्।
नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा आयोजित “फिन इलेक्ट्रो–टेक २०२६” को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै तनहुँ क्षेत्र नम्बर–२ का सांसद न्यौपानेले २१औँ शताब्दीको विकासलाई सडक, पुल र भवन निर्माणमा मात्र सीमित गर्न नहुने उल्लेख गरे। उनले ऊर्जा पहुँच, ऊर्जा कनेक्टिभिटी तथा प्रतिव्यक्ति विद्युत् खपत नै आधुनिक विकासको वास्तविक आधार भएको बताए।
समारोहमा बोल्दै उनले नेपालमा घाम, हावा र पानीबाट करिब १ लाख ५० हजार मेगावाट ऊर्जा उत्पादनको सम्भावना रहे पनि हाल करिब ४,३५० मेगावाट मात्रै हरित ऊर्जा उत्पादन भइरहेको तथा प्रतिव्यक्ति वार्षिक विद्युत् खपत करिब ४०० युनिटमा सीमित रहेको तथ्य प्रस्तुत गरे।
“बिजुली उत्पादन गर्नु र टावर उभ्याउनु मात्र विकास होइन,” उनले भने, “विकास त्यतिबेला हुन्छ, जब भरपर्दो विद्युत् सेवा हरेक नागरिकको घरदैलोमा पुग्छ, किसानले सिँचाइमा प्रयोग गर्न पाउँछ, युवाले आफ्नै गाउँमा उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्न सक्छन् र आधुनिक डिजिटल अर्थतन्त्रको आधार ऊर्जा बन्छ।”
सांसद न्यौपानेले सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई सकारात्मक रूपमा लिँदै त्यसको वास्तविक सफलता उत्पादनसँगै प्रभावकारी खपत विस्तारमा निर्भर रहने बताए।
“यदि त्यो विद्युत् घर, खेत, उद्योग, विद्युतीय सवारी, पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र ग्रामीण उद्यमसम्म पुग्न सकेन भने ३० हजार मेगावाटको लक्ष्यको कुनै अर्थ रहँदैन,” उनले स्पष्ट पारे।
उनले ऊर्जा क्षेत्रको अहिलेको मुख्य चुनौती उत्पादन मात्र नभई प्रसारण, वितरण, खपत र बजार सुनिश्चितता रहेको उल्लेख गरे। देशका लाखौं नागरिक अझै जोखिमपूर्ण नाङ्गा तार, कमजोर ट्रान्सफर्मर, जीर्ण पोल, थ्री–फेज लाइनको अभाव तथा ढिलासुस्तीपूर्ण प्रसारण लाइन निर्माणको समस्याबाट प्रभावित रहेको उनको भनाइ थियो।
ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि राजनीतिक नेतृत्व, प्रशासनिक संयन्त्र र प्राविधिक जनशक्तिबीच साझा लक्ष्य र प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले ऊर्जा उत्पादन र खपतबीचको सन्तुलनमार्फत मात्रै राष्ट्रिय समृद्धि हासिल गर्न सकिने बताए।
विश्व ऊर्जा प्रतिस्पर्धाबाट प्रविधि प्रतिस्पर्धामा प्रवेश गरिसकेको उल्लेख गर्दै सांसद न्यौपानेले कृत्रिम बुद्धिमत्ता (AI), डाटा सेन्टर, क्लाउड कम्प्युटिङ, विद्युतीय यातायात र स्वचालित उद्योगहरूको आधार नै ऊर्जा भएको बताए।
नेपालसँग पर्याप्त जलस्रोत, विशाल सम्भावना र विस्तारोन्मुख बजार भएकाले अब केवल विद्युत् निर्यात गर्ने होइन, विद्युत् प्रयोग गरेर मूल्य सिर्जना गर्ने अर्थतन्त्र निर्माण गर्नुपर्ने उनको धारणा थियो।
भृकुटीमण्डपमा प्रदर्शित विद्युतीय उपकरण, सौर्य प्रणाली तथा आधुनिक प्रविधिलाई उनले केवल व्यापारिक सामग्री नभई नेपालको ऊर्जा रूपान्तरणका साधनका रूपमा व्याख्या गरे। यस्ता प्रविधिले आयातित इन्धनमाथिको निर्भरता घटाउने, ऊर्जा आत्मनिर्भरता बढाउने तथा हरित अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे।
सम्बोधनको अन्त्यमा सांसद न्यौपानेले सरकारले लिएको महत्वाकांक्षी ऊर्जा लक्ष्यको सफलताका लागि कार्यान्वयनको गति निर्णायक हुने उल्लेख गर्दै नेपालले अब “मेगावाट गन्ने युग” बाट बाहिर निस्केर “ऊर्जा खपतबाट समृद्धि गन्ने युग” मा प्रवेश गर्नुपर्ने दोहोर्याए।
“फिन इलेक्ट्रो–टेक २०२६” मा ऊर्जा, विद्युतीय उपकरण, सौर्य प्रविधि तथा आधुनिक ऊर्जा समाधानसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मेगावाट होइन, ऊर्जा खपतबाट समृद्धि मापन गर्ने युगमा नेपाल प्रवेश गर्नुपर्छ : सांसद न्यौपाने
-
नेप्से घटे पनि कारोबार रकम भने ५ अर्ब ६२ करोड नाघ्यो
-
इप्पानको संस्थागत एकता जोगाउन मोहन डाँगी र गोरे शेर्पाको सर्वसम्मत प्रयासमा जोड र खुला प्रतिस्पर्धा
-
सेबोनको आईपीओ पाइपलाइनमा ६ नयाँ कम्पनी थपिए, २ अर्ब ७८ करोडभन्दा बढीको शेयर निष्कासन तयारी
-
विद्युत् नियमन आयोगमा नेतृत्व दौड सुरु : पूर्वसचिवदेखि ऊर्जा विज्ञसम्म अध्यक्ष र सदस्य पदमा दाबेदारी, को-को हुन् प्रतिस्पर्धी ?
-
उपत्यकाका झण्डै एक सय स्थानमा शनिबार चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने