नेपाल–कोरिया ऊर्जा सहकार्य अब परियोजना र लगानीको चरणमा : इप्पान उपाध्यक्ष डाँगी
जलसरोकार
काठमाडौं :
नेपाल -कोरियाबीच ऊर्जा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजित नेपाल -कोरिया ऊर्जा सहकार्य सेमिनार -२०२५ मा स्वतन्त्र विद्युत् उत्पादकहरुको संस्था इप्पानले सरकारी -सरकारी (G2G) तथा व्यवसाय-व्यवसाय (B2B) मोडेलमा लगानी बढाउन आह्वान गरेको छ।
सेमिनारको समापन सत्रमा धन्यवाद ज्ञापन गर्दै इप्पानका उपाध्यक्ष मोहन डाँगीले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध आपसी विश्वास, मित्रता र सहकार्यमा आधारित रहेको उल्लेख गरे। उहाँले नेपालमा विशाल जलविद्युत् सम्भावना रहेको र भारत तथा बंगलादेशमा हरित ऊर्जाको ठूलो बजार उपलब्ध भएकाले नेपाल क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवस्थामा पुगेको बताए ।
डाँगीका अनुसार नेपाल सरकारले स्वीकृत गरेको ऊर्जा विकास मार्गचित्र -२०२५ अन्तर्गत सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ। सो लक्ष्य हासिल गर्न ४६.५ अर्ब अमेरिकी डलर बराबरको लगानी आवश्यक पर्ने उल्लेख गर्दै उहाँले उत्पादन, प्रसारण लाइन र सबस्टेशन निर्माणमा ठूलो पूँजी भित्र्याउनुपर्ने आवश्यकता औंल्याए ।
नेपालका अधिकांश आयोजना रन -अफ -रिभर प्रकृतिका भएकाले वर्षायाममा अतिरिक्त विद्युत् खेर जाने अवस्था रहेको भन्दै उपाध्यक्ष डाँगीले सो अतिरिक्त ऊर्जालाई हरित हाइड्रोजन उत्पादनमा प्रयोग गर्न सकिने सम्भावना औंल्याए। यसले ग्रिड सन्तुलनमा सहयोग पुर्याउनुका साथै ऊर्जा भण्डारणको विकल्पसमेत प्रदान गर्ने उनको भनाइ थियो।
नेपाल विश्वका दोस्रो र चौथो ठूलो अर्थतन्त्र भएका देशहरूबीच अवस्थित भएकाले तेस्रो मुलुकका लगानीकर्ताका लागि ऊर्जा तथा सम्बन्धित क्षेत्रमा ठूलो अवसर रहेको उल्लेख गर्दै उजले जलविद्युत् आयोजना, हरित इन्धन, हाइड्रोजन प्लान्ट, मल कारखाना तथा मेट्रो रेलजस्ता परियोजनामा कोरियाली लगानीकर्तालाई सहभागिताका लागि आग्रह गरे।
उपाध्यक्ष डाँगीले इप्पान र आफू व्यक्तिगत रूपमा पनि कोरियाली लगानीकर्तासँग सहकार्यका लागि सधैं तयार रहेको स्पष्ट पार्दै नेपाल-कोरिया ऊर्जा सहकार्यलाई व्यवहारिक लगानी र परियोजनामा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको अन्त्यमा उनले सेमिनार सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने कोरियाली दूतावास, नेपाल सरकारका प्रतिनिधि, वक्ता, निजी क्षेत्र, सञ्चारकर्मी तथा सहभागी सबैलाई धन्यवाद व्यक्त गरे।
कार्यक्रममा इप्पानका सल्लाहकारहरु डा. सुवर्णदास श्रेष्ठ, लालकृष्ण केसी, कृष्णप्रसाद भण्डारी र कृष्णप्रसाद आचार्य उपस्थित थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
-
अलपत्र पारिएका सिँचाइका २२ रुग्ण ठेक्का तोडियो
-
नेपाल–कोरिया ऊर्जा सहकार्य अब परियोजना र लगानीको चरणमा : इप्पान उपाध्यक्ष डाँगी
-
२८,५०० मेगावाट लक्ष्य हासिल गर्न कोरियाली लगानी अपरिहार्य : इप्पान अध्यक्ष कार्की
-
नेपाल-कोरिया ऊर्जा सहकार्य अब लगानीको चरणमा, कोरियाली निजी क्षेत्रलाई ‘रेड कार्पेट’
-
नेप्से ६.७४ अंकले घटेर २६०१ विन्दुमा, कारोबार रकम घट्यो