कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपाल-जर्मनीबीच ऊर्जा, स्वास्थ्य र समावेशी विकासमा सहयोग गर्ने दुई सम्झौतामा हस्ताक्षर

जलसरोकार
बुधबार, असोज २२, २०८२ | १३:२०:३५ बजे

 

काठमाडाै : नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय तथा प्राविधिक सहयोगसम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार  भएको उक्त सम्झौताहरूले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहयोग पुर्‍याउने लक्ष्य लिएका छन् ।

नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र जर्मन सरकारको तर्फबाट जर्मनीका राजदूत उडो भोल्जले सम्झौतामा हस्ताक्षर गरे ।

वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’  का लागि २० मिलियन यूरोसम्मको सहयोग प्रतिबद्धता जनाएको छ । उक्त परियोजना नेपालको विद्युत् वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुने अर्थ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा छ । 

विज्ञप्तिअनुसार उक्त परियाेजनाले  देशभर भरपर्दो र प्रभावकारी विद्युत सेवा सुनिश्चित गर्ने उद्देश्य लिएको छ । परियोजना नेपाल विद्युत प्राधिकरणमार्फत कार्यान्वयन हुनेछ भने त्यसका लागि प्राधिकरण र जर्मन विकास बैंक (KfW) बीच कार्यान्वयन सम्झौता पनि गरिनेछ । यो परियोजना आगामी सन् २०२९ सेप्टेम्बर ५ भित्र सम्पन्न गर्नुपर्ने उल्लेख  छ ।

त्यसैगरी, प्राविधिक सहयोग सम्झौता सन् १९७४ को दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ को संशोधित सम्झौतामा आधारित रहँदै सन्चालन हुनेछ । यसअन्तर्गत जर्मन सरकारले २१ मिलियन यूरोसम्मको सहयोग गर्नेछ ।

प्राविधिक सहयोगले स्वास्थ्य क्षेत्रमा राष्ट्रिय लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीतिका लागि निरन्तर समर्थन गर्दै स्वास्थ्य प्रणालीको गुणस्तर सुधार गर्नेछ । कृषि तथा निजी क्षेत्र विकासमा ‘ग्रीन रेजिलियन्ट एग्रिकल्चर-सेंटरड प्राइभेट सेक्टर इकोनोमिक डेभलपमेन्ट’ कार्यक्रममार्फत समावेशी र जलवायु-प्रतिकारशील आर्थिक विकासलाई प्रवर्द्धन गरिनेछ ।

शासन क्षेत्रमा भने राजस्व क्षेत्र सुधारका परियोजना अघि बढाइने छन्, जसले सुशासन र दिगो विकासमा योगदान पुर्‍याउने विभागले जनाएको छ । साथै ‘अध्ययन तथा विज्ञ कोष’ मार्फत सल्लाहकार र प्राविधिक सहयोग पनि प्रदान गरिने मन्त्रालयले जनाएकाे छ ।

उक्त प्राविधिक सहयोग सम्झौताका परियोजना पनि सन् २०२९ सेप्टेम्बर ५ भित्र सम्पन्न गरिने लक्ष्य छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव  शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यी सम्झौताहरूले नेपाल-जर्मनी सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनले जर्मन सरकार तथा जनताले नेपालको सामाजिक र आर्थिक विकासमा पुर्‍याउँदै आएको योगदानप्रति धन्यवाद ज्ञापन गरे ।

त्यसैगरी, राजदूत उडो भोल्जले नयाँ सहयोग प्रतिबद्धताले नेपालसँगको ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका सहकार्यलाई अझ मजबुत बनाउने बताए। उनले नेपाल–जर्मनीको दीर्घकालीन साझेदारीले समृद्ध र दिगो भविष्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : बुधबार, असोज २२, २०८२ | १३:२०:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया