सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपाल चेम्बर अफ कमर्स र विश्व बैंकबीच निजी क्षेत्र र लगानीका अवसरबारे उच्चस्तरीय छलफल

जलसरोकार
बुधबार, कात्तिक १९, २०८२ | १५:००:०८ बजे

 

काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालका निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायी सहभागी थिए । विश्व बैंक समूहको तर्फबाट साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्कीको नेतृत्वमा आएको टोली सहभागी भएको थियो ।

छलफलका क्रममा अध्यक्ष अग्रवालले देशको आर्थिक अवस्था, ‘जेनजी आन्दोलन’पछिको प्रभाव, लगानी वातावरण, नीति सुधार र दिगो आर्थिक विकासका सम्भावनाबारे धारणा राखे । उनले नेपालका अथाह प्राकृतिक स्रोतको प्रभावकारी उपयोगका माध्यमबाट दीर्घकालीन आर्थिक समृद्धि सम्भव रहेको बताए ।

अग्रवालले भने, “हाम्रो लक्ष्य नेपाललाई एलडीसी (अति कम विकसित देश) बाट मात्र नभई दक्षिण एसियामै उच्च प्रतिव्यक्ति आय हासिल गर्ने मुलुकका रूपमा स्थापित गर्नु हो ।”

उनका अनुसार नेपालमा ५७ प्रतिशत युवा जनशक्ति, कम उत्पादन लागत, अनुकूल मौसम र लगानी प्रतिफलको सुनिश्चितताले नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बनाएको छ ।

अग्रवालले भौतिक पूर्वाधार, कृषि, जलविद्युत्, पर्यटन, खानी, जडीबुटी तथा औषधिजन्य वनस्पति क्षेत्रमा लगानीका ठूलो सम्भावना रहेको र यी क्षेत्रमा नीतिगत स्पष्टता तथा लगानीमैत्री वातावरण आवश्यक रहेको बताए ।

जेनजी आन्दोलनपछि अर्थतन्त्रमा केही असर परे पनि निजी क्षेत्रको मनोबल उच्च रहेको उल्लेख गर्दै उनले विश्व बैंकले गरेको २.१ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण पुनरावलोकन गर्न आग्रह गरे ।

छलफलमा सहभागी उद्योगी–व्यवसायी तथा समितिका सभापतिहरूले कृषि, सूचना प्रविधि, ऊर्जा, जग्गा–आवास, पर्यटन र सेवा क्षेत्रमा देखिएका चुनौती र सुधारका सुझाव प्रस्तुत गरे ।

विश्व बैंक समूहका प्रतिनिधि मर्चिन पियाट्कोस्कीले नेपालको निजी क्षेत्र सुदृढीकरणका लागि संस्थागत सुधार, नीति–सामञ्जस्य, लगानी प्रवद्र्धन र नवप्रवर्तनमा जोड दिनुपर्ने बताए । उनले नीति स्थायित्व र कार्यान्वयन क्षमताको सुदृढीकरणमै दीगो लगानी वृद्धि सम्भव हुने उल्लेख गरे ।

छलफलमा विश्व बैंक समूहका असिम नेपाल (टास्क टिम लिडर एण्ड अपरेसन अफिसर ), फारिया टासिन (सिनियर अपरेसन अफिसर), र कमलिका दास (इकोनोमिस्ट, साउथ एसिया कन्ट्री एड्भाइजरी एण्ड इकोनोमिक्स,) समेत सहभागी थिए ।

प्रकाशित मिति : बुधबार, कात्तिक १९, २०८२ | १५:००:०८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया