नेपाल-अष्ट्रेलिया सम्बन्ध ६५ वर्षमा : हरित ऊर्जा र सहकार्यका नयाँ सम्भावनामा एकमत


काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्कासँग अष्ट्रेलियाका नेपालस्थित राजदूत महामहिम लिआन जोनस्टनले शिष्टाचार भेट गरेकी छिन् ।
ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले नेपाल सरकार र मन्त्रालयको तर्फबाट राजदूत जोनस्टनलाई स्वागत गर्दै नेपाल-अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध यस वर्ष ६५औं वर्षमा प्रवेश गरेको प्रसंग स्मरण गरे । उनले नेपाललाई प्रदान हुँदै आएको अष्ट्रेलियाली सहयोगप्रति आभार व्यक्त गर्दै छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमहरूले नेपालको जनशक्ति सुदृढीकरणमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
मन्त्री खड्काले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, प्रसारण प्रणाली आधुनिकीकरण, जलवायु अनुकूलित सिंचाई, स्वच्छ ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको उल्लेख गर्दै नेपालको हरित ऊर्जा रूपान्तरण यात्रामा अष्ट्रेलियाली प्रविधि र लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाए ।
भेटका क्रममा राजदूत जोनस्टनले मन्त्री खड्कालाई ८-१० सेप्टेम्बर २०२५ मा फ्रान्सको पेरिसमा आयोजना हुने अन्तर्राष्ट्रिय पम्प्ड स्टोरेज जलविद्युत् सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गरिन् । निमन्त्रणाप्रति धन्यवाद ज्ञापन गर्दै मन्त्री खड्काले सो अवसरले ऊर्जा क्षेत्रका नयाँ अवसर पहिचान र ऊर्जा समिश्रण हासिल गर्न पम्प्ड स्टोरेज आयोजनाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
राजदूत जोनस्टनले मन्त्री खड्काको पहलमा तयार भएको “ऊर्जा क्षेत्र विकास मार्गचित्र २०८१” का लागि बधाई तथा सफल कार्यान्वयनका शुभकामना व्यक्त गर्दै थप जानकारी लिन जिज्ञासा राखिन् । सो क्रममा मन्त्री खड्काले मार्गचित्रअनुसार सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको बताए । उनले यसअन्तर्गत १३ हजार पाँच सय मेगावाट आन्तरिक खपत, १० हजार मेगावाट भारतमा निर्यात र पाँच हजार मेगावाट बंगलादेशमा निर्यात गर्ने योजना रहेको जानकारी दिए ।
राजदूत जोनस्टनले वातावरणीय सन्तुलन कायम राख्दै जलविद्युत् विकास नेपालका लागि लाभदायी हुनेमा विश्वास व्यक्त गर्दै यस महत्वाकांक्षी योजनामा अष्ट्रेलियाको सहयोग र साझेदारी रहने आश्वासन दिइन् । भेटको अन्त्यमा मन्त्री खड्काले नेपाल-अष्ट्रेलिया सम्बन्धलाई विशेषगरी ऊर्जा, जलस्रोत र सिंचाई क्षेत्रमा अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गर्दै राजदूत जोनस्टनको नेपालमा सफल कार्यकालको शुभकामना व्यक्त गरे । दुवै पक्षले आगामी दिनमा निरन्तर संवाद र सहकार्यलाई अझ फलदायी बनाउने विश्वास व्यक्त गरेका थिए।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
नेपाल-अष्ट्रेलिया सम्बन्ध ६५ वर्षमा : हरित ऊर्जा र सहकार्यका नयाँ सम्भावनामा एकमत
-
इप्पानले राख्यो प्राधिकरणसमक्ष ११ बुँदे माग
-
निजी क्षेत्रको बिजुली लिएँ भने मलाई अख्तियारले बाँधेर लान्छ : हितेन्द्रदेव शाक्य
-
हाइड्रो ‘चाहिँदैन’ भनेका हितेन्द्रदेव शाक्यले भने, 'सौर्य ऊर्जाले अर्थतन्त्र उकास्न सक्दैन'
-
विद्युत् विधेयकमा स्वदेशी निजी क्षेत्रलाई निषेध ( भिडियाे)
-
सरकारको राजस्वबाट मात्र विकास आवश्यकता पूर्ति नभएकाले वैकल्पिक वित्त कोष आवश्यक : अर्थमन्त्री