सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइनहरुमा ऐतिहासिक सहमति

जलसरोकार
मंगलबार, कात्तिक १८, २०८२ | २१:४६:२६ बजे
हस्ताक्षर भएको सहमति पत्र आदान-प्रदान गर्दै दुबै देशका टोली नेताहरु । नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र उनका समकक्षी भगवान सहाय बैरवा । तस्बीर : जलसरोकार

पोखरा : नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइनमा ऐतिहासिक सहमति भएको छ । 

नेपाल र भारतबीचको प्रमुख अन्तरदेशीय प्रसारण पूर्वाधार ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सितामढी प्रसारण लाइनमार्फत विद्युत आदान-प्रदान क्षमताको पुनर्मूल्यांकन गरिएको छ। पुनर्मूल्यांकन अनुसार नेपालले अब भारतलाई १,५०० मेगावाटसम्म विद्युत निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको छ।
नेपाल र भारतबीच ऊर्जा क्षेत्रको प्राविधिक सहकार्य सुदृढीकरणका उद्देश्यले गठित संयुक्त प्राविधिक टोली (Joint Technical Team-JTT) को १७औं बैठकले यस्तो सहमति गरेको हाे ।

नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरण का प्रमुख इन्जिनियर  भगवान सहाय बैरवाको सह-अध्यक्षतामा हिजाे र आज मंगलबार  पोखरामा बैठक भएको थियो । 

दुई दिनसम्म चलेको बैठकमा दुवै देशबीचको विद्युत आदान-प्रदान, प्रसारण प्रणालीको सुदृढीकरण, र नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्बन्धी विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।


बैठकले नेपाल-भारत विद्युत सहकार्यलाई दीर्घकालीन र व्यवस्थित बनाउने उद्देश्यका साथ सात बुँदामा सहमति गरेको छ।

प्रमुख सहमतिहरू

१. चमेलिया-जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको नेपाल र भारतले आ-आफ्नो तर्फको प्रसारण लाइनको तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (DPR) प्रस्तुत गरेको र संयुक्त प्राविधिक टोलिले दुवै देशको संयुक्त DPR नोभेम्बर २०२५ भित्र तयार गर्ने सहमति भएको । दुवै देशबीच उक्त प्रशारण लाइन २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी कार्य अगाडी बढाउने । 

२. नयाँ बुटवल- गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने व्यवस्था मिलाउले। उक्त प्रसारण लाइन मार्फत विद्युत आयात-निर्यात क्षमताको सम्बन्धमा उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग थप बैठक १५ दिनभित्र गर्ने सहमति भएको । 

३. ढल्केवर - मुजफ्फरपुर र ढल्केवर - सितामढी लाइनमार्फत विद्युत आदान-प्रदान क्षमताको पुनर्मूल्यांकन भयो। जसअनुसार नेपालले नेपालबाट १,५०० मेगावाटसम्म विद्युत निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको । 

४. निजगढ - मोतीहारी ४०० के.भी. डबल सर्किट लाइनको DPR तयारीको लागि नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त DPR तयार गर्ने। 

५. लमही - लक्नउ ४०० के.भी. लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लामाही वा कोहलपुर सम्बन्धी अन्तिम अध्ययन संयुक्त रूपमा गरी DPR तयार गर्ने। । 

६. ढल्केवर - मुजफ्फरपुर ४०० के.भी. लाइनको Reconductoring मा उच्च तापक्रम सहनसक्ने (HTLS) प्रविधि अपनाउने विषयमा DPR तयारी अघि बढाउने । 

७. रक्सौल-परवानीपुर र रामनगर-गण्डक १३२ के.भी. लाइनहरूको क्षमता अभिवृद्धि गर्न यी लाइनहरूको कन्डक्टर HTLS कन्डक्टरले प्रतिस्थापन गर्न संयुक्त रुपमा अध्ययन गर्ने

दुवै देशका प्राविधिक टोलीबीच नियमित संवादका माध्यमबाट प्रसारण पूर्वाधार विस्तार, विद्युत व्यापार सन्तुलन, र ग्रिडको विश्वसनीयता सुधारका विषयमा सहकार्य हुँदै आएको छ। पोखरामा सम्पन्न १७औं बैठकले यी प्रयासलाई थप संस्थागत रूप दिने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : मंगलबार, कात्तिक १८, २०८२ | २१:४६:२६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया