खिम्ती जलविद्युत्काे शेयर हस्तान्तरणबारे वार्ता समिति पुनर्गठन
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् केन्द्रको शेयर स्वामित्व हस्तान्तरण तथा आगामी सञ्चालन–व्यवस्थापनका विषयमा छलफल अघि बढाउन वार्ता समिति पुनर्गठन गरेको छ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो। समितिले आयोजनाको स्वामित्व हस्तान्तरण, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी तथा कर भुक्तानीलगायत विषयमा प्रवर्द्धक कम्पनीसँग वार्ता गर्नेछ।
खिम्ती जलविद्युत् आयोजना निर्माण, सञ्चालन, व्यवस्थापन तथा हस्तान्तरण (बुट) मोडलअन्तर्गत हिमाल पावर लिमिटेडले प्रवर्द्धन गरेको हो। आयोजनाले २०५७ असार २७ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो।
विद्यमान सम्झौताअनुसार व्यावसायिक उत्पादन थालेको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा हस्तान्तरण हुनुपर्ने व्यवस्था रहे पनि विभिन्न कारणले हालसम्म उक्त प्रक्रिया पूरा हुन सकेको छैन। यससँगै आयोजनाबाट उत्पादित विद्युत्को नयाँ खरिद दर निर्धारण, रोयल्टी तथा करसम्बन्धी विषय पनि टुंगो लगाउनुपर्ने अवस्था रहेको छ।
यसैबीच, सञ्चालक समिति सदस्य कृष्ण बसेलको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति गठन गरिएको छ। समितिले विद्युत् महसुल, जरिवाना तथा प्रशासनिक निर्णयसँग सम्बन्धित विवादहरूको पुनरावलोकन र समाधानका लागि काम गर्नेछ।
सञ्चालक समितिको बैठकले प्राधिकरणमा रिक्त रहेका विभिन्न पदमा पदपूर्तिको प्रक्रिया अघि बढाउन प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक शान्ति लक्ष्मी शाक्य लाई विज्ञ सदस्यका रूपमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तीन दिन ‘आगोको लहर’मा तराई, ४० डिग्री नाघ्ने चेतावनी
-
अब मेगावाट गन्ने होइन, बिजुली बेच्ने रणनीति चाहिन्छ : सांसद न्यौपाने
-
अब मेगावाट गन्ने होइन, बिजुली बेच्ने रणनीति चाहिन्छ : सांसद न्यौपाने
-
खिम्ती जलविद्युत्काे शेयर हस्तान्तरणबारे वार्ता समिति पुनर्गठन
-
नेप्से १३.४६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
इप्पानमा ‘लोकतान्त्रिक नेतृत्व’ बहस