प्राधिकरणको ध्यान अब गुणस्तरीय र भरपर्दो बिजुलीतर्फ : कार्यकारी निर्देशक शाक्य
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब प्राधिकरणको मुख्य ध्यान गुणस्तरीय, भरपर्दो र निरन्तर बिजुली आपूर्तिमा केन्द्रित हुने बताएका छन् । ‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने अभियान’ अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेश पुगेका शाक्यले वितरण केन्द्र तथा सबस्टेसनको निरीक्षणका क्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।
धनगढीमा आयोजित कार्यक्रममा उनले लोडसेडिङ अन्त्य भइसकेपछि अब केवल बिजुली पु¥याउनु मात्र पर्याप्त नहुने उल्लेख गरे । “पहिला लोडसेडिङ थियो, जसरी पनि बिजुली पु¥याउनुपर्छ भन्ने अवस्था थियो,” उनले भने, “अब बिजुलीको गुणस्तर महत्वपूर्ण छ । झ्याप्प–झ्याप्प जाने होइन, भरपर्दो र स्थिर बिजुली चाहिन्छ ।”
उत्कृष्ट ग्राहक सम्मान कार्यक्रममा बोल्दै उनले विद्युत् उपभोक्तालाई प्राधिकरणको आम्दानीको स्रोतका रूपमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड का रूपमा हेर्नुपर्ने बताए।
“उद्योगीहरूले बिजुली कच्चा पदार्थका रूपमा प्रयोग गरेर चार–पाँच गुणा बढी मूल्य अभिवृद्धि गर्नुहुन्छ,” उनले भने, “त्यसैले उपभोक्ता हाम्रो आम्दानीका लागि मात्रै होइन, देशको अर्थतन्त्र, रोजगारी र उत्पादनका लागि पनि महत्वपूर्ण हुनुहुन्छ।”
शाक्यले उद्योगीहरूका लागि गुणस्तरीय र निरन्तर विद्युत् आपूर्ति झनै आवश्यक रहेको उल्लेख गरे। “बिजुली एकपटक बन्द हुँदा उद्योगीलाई जेनेरेटर चलाउनुपर्ने वा उत्पादन नै खेर जाने अवस्था आउँछ,” उनले भने, “त्यसैले उद्योगका लागि भोल्टेज स्थिरता र निरन्तरता अत्यावश्यक छ।”
सुदूरपश्चिम क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो बनाउन अत्तरिया–धनगढी प्रसारण लाइन निर्माणको लाइसेन्स लिएर अघि बढिसकेको जानकारी दिँदै उनले आगामी दिनमा ठूलो उद्योगको माग पूरा गर्न सक्ने अवस्थामा प्राधिकरण पुग्ने विश्वास व्यक्त गरे।
“यो क्षेत्रका लागि यो प्रसारण लाइन निकै महत्वपूर्ण छ,” उनले भने, “सुदूरपश्चिममा अन्य आयोजनाहरू पनि आउँदै छन्, त्यसैले यहाँको विद्युत् गुणस्तर अझ राम्रो हुनेछ।”
निरीक्षण भ्रमणका क्रममा शाक्यले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना, कर्णाली प्रदेशको वितरण तथा ग्राहक सेवा निर्देशनालयको समेत अवलोकन गरेका थिए । हिमाली तथा पहाडी जिल्लामा देखिएका विद्युत् समस्यालाई समाधान गर्न तालिकासहित योजनाबद्ध रूपमा अघि बढ्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले गुणस्तरीय विद्युत् आपूर्ति, उद्योग प्रवद्र्धन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा वितरण प्रणाली सुदृढीकरणमा जोड दिने जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार