सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अब ११ केभी लाइन मर्मत गर्न विद्युत काट्न नपर्ने? प्राधिकरणले ‘लाइभ-लाइन’ प्रविधिको सफल परीक्षण गर्‍यो

जलसरोकार
आइतबार, असार १४, २०८३ | ११:५५:०७ बजे

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले अब ११ केभी (११ हजार भोल्ट) वितरण लाइनमा विद्युत आपूर्ति बन्द नगरी नै मर्मत गर्न सकिने ‘लाइभ-लाइन’ (Live Line Maintenance) प्रविधिको सफल परीक्षण गरेको छ। प्राधिकरणका अनुसार यो प्रविधि प्रभावकारी रूपमा कार्यान्वयनमा आए मर्मतसम्भारका क्रममा हुने विद्युत कटौती उल्लेखनीय रूपमा घट्नेछ।

घरमा आउने विद्युत् २२० भोल्ट भए पनि त्यो घरसम्म आइपुग्नुअघि टोल-टोलका ट्रान्सफर्मरसम्म ११ हजार भोल्ट (११ केभी) को लाइनबाट आउँछ। त्यसैले यो प्रविधि सफल भयो भने ट्रान्सफर्मरसम्म आउने मुख्य वितरण लाइन मर्मत गर्दा पनि तपाईंको घरको बिजुली नकट्ने सम्भावना बढ्छ।

प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयले बुटवल उपमहानगरपालिका-११, कालिकानगरस्थित ११ केभी वितरण लाइनमा तालिमप्राप्त प्राविधिकमार्फत उक्त प्रविधिको सफल परीक्षण गरेको हो। परीक्षण तथा कार्यक्रमको औपचारिक शुभारम्भ नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको उपस्थितिमा गरिएको थियो।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझाका अनुसार विद्युत आपूर्ति बन्द नगरी चालु लाइनमै सुरक्षित रूपमा मर्मत गर्न सकिने क्षमता विकास गर्ने उद्देश्यले यो प्रविधिको परीक्षण गरिएको हो। उनका अनुसार यसबाट नियमित मर्मतका लागि हुने विद्युत कटौती क्रमशः घटाउँदै उपभोक्तालाई निरन्तर सेवा उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कामु कार्यकारी निर्देशक श्रेष्ठले हाल नमुनाका रूपमा ११ केभी लाइनमा गरिएको सफल परीक्षणले प्राविधिक रूपमा ‘लाइभ-लाइन’ मर्मत सम्भव रहेको पुष्टि गरेको बताउँदै यसको प्रभावकारिता मूल्याङ्कनपछि सहरी क्षेत्रका प्रमुख वितरण लाइनहरूमा क्रमशः विस्तार गरिने जानकारी दिए।

लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार यादवले यो प्रविधि वितरण प्रणालीलाई थप भरपर्दो बनाउने दिशामा महत्वपूर्ण अभ्यास भएको बताए। उनका अनुसार उपभोक्ताले कम अवरोधमा विद्युत सेवा पाउने वातावरण बनाउन प्राधिकरणले यस्ता आधुनिक प्रविधिको प्रयोग बढाउँदै जाने योजना बनाएको छ।

कार्यक्रममा बुटवल ग्रिड महाशाखाका प्रमुख अनिल बन्जाडे, विभिन्न वितरण केन्द्रका प्रमुख तथा आयोजना प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।

किन महत्वपूर्ण छ ‘लाइभ-लाइन’ प्रविधि?

नेपालमा हालसम्म वितरण लाइनको नियमित मर्मतसम्भारका लागि सम्बन्धित फिडर वा लाइन केही समयका लागि बन्द गर्नुपर्ने अभ्यास छ। त्यसका कारण उपभोक्ताले पूर्वसूचित वा आकस्मिक विद्युत अवरोध बेहोर्नुपर्ने अवस्था रहँदै आएको छ।

‘लाइभ-लाइन’ प्रविधि भने विद्युत प्रवाह कायम राखेर विशेष सुरक्षा उपकरण र तालिमप्राप्त प्राविधिकमार्फत मर्मत कार्य गर्ने विधि हो। विश्वका धेरै मुलुकमा प्रयोग हुँदै आएको यो प्रविधि प्रभावकारी रूपमा विस्तार हुन सके नेपालमा मर्मतसम्भारका कारण हुने विद्युत कटौती घट्ने, वितरण प्रणालीको विश्वसनीयता बढ्ने तथा उद्योग, व्यवसाय र सर्वसाधारणलाई थप गुणस्तरीय सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

एक नजरमा : ‘लाइभ-लाइन’ मर्मतके हो?
विद्युत प्रवाह बन्द नगरी चालु लाइनमै मर्मत गर्ने प्रविधि।

कसरी सम्भव हुन्छ?
विशेष इन्सुलेटेड उपकरण, सुरक्षा सामग्री र तालिमप्राप्त प्राविधिकमार्फत।

के फाइदा?

  • मर्मतका बेला विद्युत काट्नुपर्दैन।
  • उपभोक्ताले निरन्तर सेवा पाउँछन्।
  • उद्योग तथा व्यवसायमा विद्युत अवरोध कम हुन्छ।
  • वितरण प्रणालीको विश्वसनीयता बढ्छ।

नेपालमा किन महत्वपूर्ण?
वितरण लाइनको मर्मतका कारण हुने नियमित विद्युत कटौती घटाएर सेवा थप भरपर्दो बनाउन यो प्रविधि महत्वपूर्ण मानिन्छ।

प्रकाशित मिति : आइतबार, असार १४, २०८३ | ११:५५:०७ बजे

प्रतिक्रिया