सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

स्वच्छ ऊर्जाबाट हरित अर्थतन्त्रतर्फ नेपाल, डिकार्बनाइजेसनमा केन्द्रित राष्ट्रिय सम्मेलन हुँदै

जलसरोकार
सोमबार, माघ १२, २०८२ | १७:०६:०९ बजे

काठमाडौं  : अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस, २०८२ को अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” विषयक राष्ट्रिय सम्मेलन आगामी माघ १३ गते काठमाडौंमा आयोजना हुने भएको छ।

'स्वच्छ ऊर्जाको कार्यान्वयनः नेपालको अर्थतन्त्रको न्यून कार्बनीकरण' नाम दिइएको सम्मेलनले स्वच्छ ऊर्जाको कार्यान्वयनमार्फत नेपालको अर्थतन्त्रलाई न्यून कार्बनतर्फ लैजाने व्यावहारिक उपायमा केन्द्रित हुने आयोजकले जनाएको छ। यो सम्मेलन गत वर्ष सम्पन्न उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरण सम्बन्धी राष्ट्रिय सम्मेलनको निरन्तरता हो।

सम्मेलनको उद्घाटन ऊर्जामन्त्री अनिल कुमार सिन्हाको प्रमुख आतिथ्यतामा हुने छ। उद्घाटन सत्रमा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” सम्बन्धी प्रस्तुति, दिगो ऊर्जा च्यालेन्ज फण्ड सम्बन्धी पुस्तक विमोचन तथा सरकार, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरूका मन्तव्य समेटिने छन्।

कार्यक्रमको दोस्रो चरणमा तीनवटा प्राविधिक सत्र सञ्चालन गरिनेछन्। ती सत्रहरूमा स्वच्छ ऊर्जा र कार्बन बजारमार्फत न्यून कार्बनीकरण, ऊर्जा दक्षतामार्फत डिकार्बनाइजेसन,
तथा स्वच्छ ऊर्जा र विद्युतीय सवारी (इ–मोबिलिटी) मा लगानी जस्ता विषयमा छलफल हुने आज केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा जारी दिइयाे ।

 

३७ लाख घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार हालसम्म केन्द्रले देशभर करिब ३७ लाख घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको पहुँच पुर्‍याइसकेको छ। हाल कूल विद्युत् पहुँचमा नवीकरणीय ऊर्जाको हिस्सा करिब ६ प्रतिशत पुगेको छ।

केन्द्रका तथ्यांक अनुसार देशभर
– ४०,७१७ किलोवाट लघु तथा साना जलविद्युत्,
– १० लाखभन्दा बढी घरेलु सौर्य प्रणाली,
– ४ लाख ५६ हजार बायोग्यास प्लान्ट,
– १ लाख ५६ हजार विद्युतीय चुलो,
– १४ लाखभन्दा बढी सुधारिएको चुलो,
– तथा हजारौँ सौर्य रुफटप, मिनिग्रिड, सौर्य पम्प र सौर्य सडकबत्ती जडान सम्पन्न भइसकेका छन्।

नवीकरणीय ऊर्जा क्षेत्रमा ५०० भन्दा बढी कम्पनीहरू सक्रिय रहँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको केन्द्रले जनाएको छ।

कार्बन व्यापारबाट ३६ मिलियन डलर आम्दानी

केन्द्रले सन् २००५ देखि नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन व्यापारको थालनी गरेको र हालसम्म ८ वटा कार्बन परियोजनामार्फत ६६ लाख ८० हजार मेट्रिक टन कार्बन उत्सर्जन न्यूनीकरण प्रमाणित गरी करिब ३६ मिलियन अमेरिकी डलर आम्दानी गरेको जनाएको छ।

डिकार्बनाइजेसनमा ‘बहसबाट व्यवहार’ मा जाने जोड

सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकारसँग अन्तर्क्रिया कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक **नवराज ढकाल**ले यस वर्षको सम्मेलनले “बहसलाई व्यवहारमा रूपान्तरण गर्ने” लक्ष्य लिएको बताए। उनले केन्द्रले हासिल गरेका उपलब्धीलाई संस्थागत गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकलाई ऐनका रूपमा अघि बढाउने तयारी रहेको जानकारी दिए।

कार्यक्रममा केन्द्रका निर्देशक मुकेश घिमिरेले ऊर्जा क्षेत्रमा डिकार्बनाइजेसनको अवस्था र त्यसमा केन्द्रको भूमिकाबारे प्रस्तुति दिएका थिए।

अन्तर्क्रिया कार्यक्रममा सञ्चार माध्यम तथा निजी क्षेत्रका प्रतिनिधिहरूले केन्द्रका कार्यक्रमको प्रभावकारी प्रचार, प्रविधिको गुणस्तर, र जडानपछिको मर्मत–सम्भारमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए।

प्रकाशित मिति : सोमबार, माघ १२, २०८२ | १७:०६:०९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया