मुगु कर्णालीको बिजुली फुकोट सबस्टेसनमा जोडिने
जलसरोकार
काठमाडौँ– मुगु कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् फुकोट सबस्टेसनमा जोड्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज मन्त्री शक्तिबहादुर बस्नेत र सचिव सरिता दुवाडीको उपस्थितिमा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाही र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवालीले द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरे ।
कुल एक हजार नौ सय दुई मेगावाट क्षमताको जलाशययुक्त आयोजनाबाट उत्पादित बिजुली चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत कालीकोट जिल्लाको फुकोट हब सबस्टेसनमा जोडिनेछ । मुगु कर्णाली जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ । त्यसलगत्तै वित्तीय व्यवस्थापनलगायत अन्य कामलाई अगाडि बढाउने लक्ष्य राखिएको छ ।
विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत शाहीले मुगु कर्णाली आयोजनाको विद्युत् कहाँ कसरी जोड्ने भन्ने विषयमा रहेको अन्योलताको अन्त्य भएको जानकारी दिए । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मुलुकको आवश्यकतालाई ख्याल गरेर प्रसारण लाइन निर्माण गरिने भएकाले आजको समझदारी महत्वपूर्ण रहेको बताए ।
मन्त्रालयका सचिव दुवाडीले सरकारी स्वामित्वका दुई कम्पनीबीच समझदारी हुनु महत्वपूर्ण रहेको बताए । उनले आयोजनाको कामलाई थप गति दिन आग्रह गरे । सो अवसरमा ऊर्जामन्त्री बस्नेतले कर्णाली प्रदेशको आर्थिक, सामाजिक विकासका लागि मुगु कर्णाली जलविद्युत् आयोजना अति आवश्यक रहेको बताए । उनले सो आयोजनाका सम्बन्धमा बाँकी रहेका काम समयमै पूरा गर्न निर्देशन दिए ।
आयोजनासँग जोडिएका अन्य कामलाई तीव्र गतिका साथ अगाडि बढाउन र कुनै कमजोरी नगर्न सम्बद्ध पक्षलाई मन्त्री बस्नेतले निर्देशन दिए । सरकारले अगाडि सारेको आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई पूरा गर्न यस्ता प्रसारण लाइन महत्वपूर्ण मानिन्छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स