मुगु कर्णालीको बिजुली फुकोट सबस्टेसनमा जोडिने
जलसरोकार
काठमाडौँ– मुगु कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् फुकोट सबस्टेसनमा जोड्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज मन्त्री शक्तिबहादुर बस्नेत र सचिव सरिता दुवाडीको उपस्थितिमा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाही र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवालीले द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरे ।
कुल एक हजार नौ सय दुई मेगावाट क्षमताको जलाशययुक्त आयोजनाबाट उत्पादित बिजुली चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत कालीकोट जिल्लाको फुकोट हब सबस्टेसनमा जोडिनेछ । मुगु कर्णाली जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ । त्यसलगत्तै वित्तीय व्यवस्थापनलगायत अन्य कामलाई अगाडि बढाउने लक्ष्य राखिएको छ ।
विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत शाहीले मुगु कर्णाली आयोजनाको विद्युत् कहाँ कसरी जोड्ने भन्ने विषयमा रहेको अन्योलताको अन्त्य भएको जानकारी दिए । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मुलुकको आवश्यकतालाई ख्याल गरेर प्रसारण लाइन निर्माण गरिने भएकाले आजको समझदारी महत्वपूर्ण रहेको बताए ।
मन्त्रालयका सचिव दुवाडीले सरकारी स्वामित्वका दुई कम्पनीबीच समझदारी हुनु महत्वपूर्ण रहेको बताए । उनले आयोजनाको कामलाई थप गति दिन आग्रह गरे । सो अवसरमा ऊर्जामन्त्री बस्नेतले कर्णाली प्रदेशको आर्थिक, सामाजिक विकासका लागि मुगु कर्णाली जलविद्युत् आयोजना अति आवश्यक रहेको बताए । उनले सो आयोजनाका सम्बन्धमा बाँकी रहेका काम समयमै पूरा गर्न निर्देशन दिए ।
आयोजनासँग जोडिएका अन्य कामलाई तीव्र गतिका साथ अगाडि बढाउन र कुनै कमजोरी नगर्न सम्बद्ध पक्षलाई मन्त्री बस्नेतले निर्देशन दिए । सरकारले अगाडि सारेको आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई पूरा गर्न यस्ता प्रसारण लाइन महत्वपूर्ण मानिन्छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तनहुँ–२ मा वरिष्ठ इन्जिनियर श्रीराम न्यौपाने घरदैलो अभियानमा, ‘एक टुक्रा सुपारी’सहित विश्वास माग्दै
-
तराईमा हुस्सु/कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा
-
विद्युत व्यापार र प्रसारणमा निजी क्षेत्रको सहभागिता अपरिहार्य : सरोकारवाला
-
ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : उपराष्ट्रपति यादव
-
इप्पान जर्नल अवार्डबाट मिलन विश्वकर्मा र सीमा तामाङ सम्मानित
-
बजेटमार्फत आएको ‘टेक एन्ड पे’ नीतिले लगानीकर्तामा निराशा : अध्यक्ष कार्की