सेयर बजार दीपक खड्का नबिल बैंक सुनको मूल्य ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विद्युत् प्राधिकरणका अधिकांश प्रदेश प्रमुखहरुले विद्युत् चुहावट बढाए (विस्तृत विवरणसहित)

जलसरोकार
मंगलबार, भदौ १०, २०८२ | १५:४५:३३ बजे
ग्राफिक्स जलसरोकार

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको गत आव २०८१/८२ मा कुल विद्युत् चुहावट १०.३९ प्रतिशत रह्यो । यो चुहावट अघिल्लो वर्ष (२०८०/८१) को भन्दा ०.८ प्रतिशतले बढी हो ।
गत वर्ष २०८१/८२ मा प्राधिकरणको प्रसारण निर्देशनालयले वितरण तथा ग्राहक सेवा निर्देशनालयलाई कुल १२ अर्ब ६३ करोड  ७६ लाख १९ हजार युनिट बिजुली पठाएकोमा ११ अर्ब ३२ करोड २४ लाख ८५ हजार युनिट बिक्री भयो । बाँकी १ अर्ब ३१ करोड २७ लाख ६२ हजार युनिट बिजुली नाश (चुहावट) भयो ।
समग्र प्राधिकरणको देशभर नाश भएको बिजुलीको आर्थिक मूल्य भने १२ अर्ब ७० करोड ७५ लाख रुपैयाँ बराबर हो । प्राधिकरणले उसका ग्राहकलाई एक युनिट बिजुली औसत ९ रुपैयाँ ७४ पैसामा बिक्री हुने हिसाबका आधारमा यो रकम आएको हो । 
आव २०८०/८१ मा प्राधिकरणको प्रसारण निर्देशनालयले ११ अर्ब ३१ करोड  ५ लाख ८७ हजार युनिट बिजुली पठाएको थियो । त्यसमध्ये वितरण तथा ग्राहक सेवाले १० अर्ब २२ करोड ५४ लाख ८६ हजार युनिट बिजुली बेचेको थियो भने एक अर्ब ८ करोड  ५१ लाख ८ सय ८२ युनिट बिजुली नाश (चुहावट) भएको थियो । 
उक्त वर्ष (२०८०/८१) प्राधिकरणको प्रतियुनिट बिजुली बिक्री दर औसत ९ रुपैयाँ ५० पैसा थियो । यस हिसाबले उक्त वर्ष प्राधिकरणको १० अर्ब ३० करोड रुपैयाँ बराबरको विद्युत् चुहावट भएको थियो ।
गत चैतमा सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाई हितेन्द्रदेव शाक्यलाई ल्याएको छ । शाक्य आउनेबित्तिकै प्रदेश प्रमुखहरु कुलमानका मान्छे भन्दै सरुवा गरिदिएका थिए । तिनै सरुवाको असर प्राधिकरणको चुहावटमा परेको प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।  
 

 

मधेश प्रदेश 
देशभरका सात प्रदेशमध्ये नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा धेरै विद्युत् चुहावट मधेश प्रदेशमा रहेको छ । 
आव २०८१/८२ को गत असार मसान्तसम्मको तथ्यांक अनुसार मधेश प्रदेशमा ३०.२७ प्रतिशत चुहावट रह्यो । 
गत वर्ष मधेश प्रदेशले २ अर्ब ८२ करोड ८२ लाख ३६ हजार युनिट बिजुली प्राप्त गरेको थियो । त्यसमध्ये मधेश प्रदेशले २ अर्ब ४३ करोड ७ लाख ५१ हजार युनिट बिक्री ग¥यो । प्राप्त भएको ऊर्जामा मधेश प्रदेशले गत वर्ष ३९ करोड ७४ लाख ८३ हजार युनिट बिजुली चुहावट हुन पुग्यो । यो चुहावट प्रतियुनिट ९ रुपैयाँ ७४ पैसाका हिसाबले ३ अर्ब ८७ करोड रुपैयाँ बराबर हुन आउँछ ।
मधेश प्रदेशले प्राप्त गरेको बिजुलीका आधारमा यो चुहावट १४.०५ प्रतिशत मात्र हो । यस्तो चुहावट आव २०८०/८१ मा १५.२९ प्रतिशत थियो । 
तर प्राधिकरणको सम्पूर्ण विद्युत् चुहावटको अनुपातमा भने मधेश प्रदेशको विद्युत् चुहावट ३०.२७ प्रतिशत हुन आउँछ ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले गत वर्ष देशभर १२ अर्ब ६३ करोड  ७६ लाख १९ हजार युनिट बिजुली प्राप्त गरेको थियो । प्राप्त भएको बिजुलीमध्ये उसले ११ अर्ब ३२ करोड ४८ लाख ५७ हजार युनिट मात्र बेचेको थियो । यसरी प्राप्त गरेको र बेचेको बिजुलीमा एक अर्ब ३१ करोड २७ लाख ६२ हजार युनिट बिजुली चुहावट भएको थियो । 
प्राधिकरणको मधेश प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार यादवले सय किलोमिटरभन्दा लामो वितरण लाइन रहेका कारण प्राविधिक चुहावट उच्च हुन पुगेको बताए । 
 

कोशी प्रदेश
आव २०८१/८२ मा कोशी प्रदेशमा विद्युत् चुहावट २०.५९ प्रतिशत भएको छ । अघिल्लो वर्ष २०८०/८१ मा कोशी प्रदेशको चुहावट १७.३२ प्रतिशत पुगेको छ । 
गत आवमा कोशी प्रदेशले २ अर्ब २० का ३७ लाख ३० हजार युनिट बिजुली पाएकोमा १ अर्ब ९३ करोड २२ लाख ३५ हजार युनिट बिक्री भई २७ करोड ३ लाख ७२ हजार युनिट बिजुली चुहावट हुन पुगेको थियो । 
प्रतियुनिट औसत ९ रुपैयाँ ७४ पैसा आम्दानीका हिसाबले कोशीमा गत वर्ष २ अर्ब ६३ करोड ३४ लाख रुपैयाँ बराबरको बिजुली नाश हुन पुग्यो । 
कोशी प्रदेशले आव २०८१/८२ मा प्राप्त गरेको र बिक्री गरेको बिजुलीको अनुपातमा विद्युत् चुहावट १२.२७ प्रतिशत हो । अघिल्लो वर्ष २०८०/८१ मा यस्तो चुहावट दर ९.८७ प्रतिशत थियो ।  
 

बागमती प्रदेश
विद्युत् चुहावटका हिसाबले बागमती प्रदेश तेस्रो स्थानमा पर्छ । गत आव २०८१/८२ मा बागमती प्रदेशमा १३.५१ प्रतिशत चुहावट रहन गयो । त्यसभन्दा अघिल्लो वर्ष (२०८०/८१) मा बागमतीको चुहावट १३.१५ प्रतिशत थियो । 
कुल २० वटा वितरण केन्द्र रहेको बागमती प्रदेशले गत वर्ष २०८१/८२ मा २ अर्ब ७५ करोड ५० लाख युनिट बिजुली पाएको थियो । उक्त वर्ष बागमतीले २ अर्ब ५४ करोड ७५ लाख युनिट बिजुली बिक्री ग¥यो भने १७ करोड ७४ लाख युनिट चुहावट भयो । 
बागमती प्रदेशले उक्त वर्ष प्राप्त गरेको र बिक्री गरेको अनुपातमा चुहावट प्रतिशत ६.५१ प्रतिशत हो । यो चुहावट अघिल्लो वर्ष २०८०/८१ को भन्दा बढी हो । २०८०/८१ मा बागमतीको चुहावट ५.६० प्रतिशत थियो ।
गत वर्ष २०८१/८१ मा बागमतीमा १ अर्ब ७२ करोड रुपैयाँ बराबरको बिजुली नाश भयो ।  कुल ९ लाख २० हजार ग्राहक संख्या रहेको बागमतीमा गत वर्ष २७ अर्ब ५४ करोड रुपैयाँ बिजुली महसुल संकलन भएको थियो । 
बागमती डिभिजन
कुल ६ वटा वितरण केन्द्र रहेको बागमती प्रादेशिक डिभिजन कार्यालय (हेटौंडा) मा गत वर्ष बिजुली चुहावट ५.३५ प्रतिशत रह्यो । यस्तो चुहावट अघिल्लो वर्ष (२०८०/८१) मा ५.०७ प्रतिशत थियो । 
बागमती डिभिजनले गत वर्ष  ८१ करोड ८९ लाख ८३ हजार युनिट बिजुली प्राप्त गरे ७४ करोड ८६ लाख ७२ हजार युनिट बेचेको थियो । उक्त वर्ष बागमती डिभिजनले ७ करोड ३ लाख १० हजार युनिट बिजुली गुमायो । यो भनेको ६८ करोड ४८ लाख रुपैयाँ बराबर हो । 
बागमती डिभिजनले गत वर्ष प्राप्त गरेको बिजुलीमा भएको चुहावट हेर्दा ८.५९ प्रतिशत देखिन्छ । यो अघिल्लो वर्ष २०८०/८१ को भन्दा १.४ प्रतिशतले बढी हो । 
 

गण्डकी प्रदेश
चुहावटका दृष्टिले छैटौं नम्बरमा पर्ने गण्डकी प्रदेशमा गत वर्ष विद्युत् चुहावट ५.३५ प्रतिशत रहन पुग्यो । अघिल्लो वर्ष ५.४७ प्रतिशत चुहावट रहेको गण्डकीमा गत वर्ष हल्का (०.१२ प्रतिशत) चुहावट घटाउन सफल भएको हो । 
गण्डकीले गत वर्ष  ८१ करोड ७ लाख ७१ हजार युनिट बिजुली प्राप्त गरेको थियो । त्यसमध्ये उसले ७४ करोड ४ लाख २५ हजार युनिट बिक्री गरेकोमा  ७ करोड ३ लाख १० हजार युनिट चुहावट रहन पुग्यो । वित्तीय मूल्यमा यो चुहावट ६८ करोड ४६ लाख रुपैयाँ हुन आउँछ ।
कुल १३ वटा वितरण केन्द्र रहेको गण्डकीले गत वर्ष प्राप्त गरेको र बिक्री गरेको बिजुली (युनिट) का आधारमा चुहावट ८.६७ प्रतिशत हो । गत वर्ष यस्तो चुहावट ७.९६ प्रतिशत थियो । 
५ लाख १५ हजार ग्राहक संख्या रहेको गण्डकीले गत वर्ष ७ अर्ब २० करोड रुपैयाँ बिजुली बेचेर आम्दानी गरेको थियो । 
 

लुम्बिनी प्रदेश
ग्राहक संख्या र वार्षिक आम्दानीका हिसाबले चौथो नम्बरमा रहेको लुम्बिनी प्रदेशमा गत वर्ष विद्युत् चुहावट ११.९३ प्रतिशत रह्यो । अघिल्लो वर्ष (२०८०/८१) मा यस्तो चुहावट ११.१७ प्रतिशत थियो । गत वर्ष लुम्बिनीले पनि ०.६६ प्रतिशत चुहावट वृद्धि गरायो । 
गत वर्ष लुम्बिनी प्रदेशले १ अर्ब ८१ करोड ९१ लाख १६ हजार युनिट बिजुली प्राप्त गरेको थियो । लुम्बिनीले गत वर्ष १ अर्ब ६६ करोड २४ लाख ७२ हजार युनिट बिजुली बेचेर १५ करोड ६६ लाख ४४ हजार युनिट बिजुली गुमायो ।
लुम्बिनी प्रदेशले प्राप्त गरेको र बिक्री गरेको अनुपातमा गत वर्ष चुहावट ८.६१ प्रतिशत रहन पुग्यो । अघिल्लो वर्ष यस्तो चुहावट ७.९६ प्रतिशत थियो । 
वार्षिक १५ अर्ब रुपैयाँ आम्दानी र कुल ५ लाख ७२ हजार ग्राहक संख्या रहेको लुम्बिनी प्रदेशमा गत वर्ष भएको विद्युत् चुहावट १ अर्ब ५२ करोड रुपैयाँ बराबरको भयो । 
 

लुम्बिनी प्रादेशिक डिभिजन
कुल १० वटा वितरण केन्द्र रहेको लुम्बिनी प्रादेशिक डिभिजनको विद्युत् चुहावट गत वर्ष ६.३३ प्रतिशत रहन गयो । लुम्बिनी डिभिजनले पनि यसपालि विद्युत् चुहावट वृद्धि गराएको छ । अघिल्लो वर्ष २०८०/८१ मा लुम्बिनी डिभिजनको चुहावट ५.६१ प्रतिशत थियो ।
गत वर्ष यो डिभिजनले ८२ करोड २८ लाख  २८ हजार युनिट बिजुली प्राप्त गरेको थियो । त्यसमध्ये ७३ करोड ९६ लाख २६ हजार युनिट बिजुली बिक्री गरेको थियो । गत वर्ष लुम्बिनी डिभिजनको चुहावट ८ करोड ३२ लाख २ हजार युनिट रहन पुग्यो ।
कुल ग्राहक संख्या ४ लाख ६४ हजार रहेको लुम्बिनी डिभिजनमा भएको यो विद्युत् चुहावटको आर्थिक हिसाब गर्दा ८१ करोड ३ लाख रुपैयाँ हुन आउँछ । 
 

कर्णाली प्रदेश
ग्राहक संख्या, विद्युत् बिक्री, आम्दानीमा सबैभन्दा कम रहेको कर्णाली प्रदेशको बिजुली चुहावट प्रतिशतमा भने सबैभन्लदा उच्च रहेको छ ।
गत वर्ष कर्णाली प्रदेशले १२ करोड ९ लाख २८ हजार युनिट बिजुली प्राप्त गरेको थियो । त्यसरी प्राप्त भएकोमध्ये कर्णाली प्रदेशले १० करोड २ लाख ९९ हजार युनिट बिजुली बिक्री गर्न सफल भयो । कर्णालले गत वर्ष २ करोड ५ लाख ८५ हजार युनिट बिजुली गुमायो । प्राप्त भएको र बिक्री भएको अनुपातमा विद्युत् चुहावट १७ प्रतिशत हो ।
जम्मा १० वितरण केन्द्र र एक लाख ७८ हजार ग्राहक संख्या रहेको कर्णालीमा गत वर्ष २० करोड रुपैयाँ बराबरको बिजुली चुहावट भयो । गत वर्ष कर्णालीले बिजुली बेचेर ९३ करोड रुपैयाँ आम्दानी ग¥यो । 
यता प्राधिकरणको सबै प्रदेशको कुल विद्युत् चुहावटको अनुपातमा भने कर्णाली प्रदेशको चुहावट भने १.५६ प्रतिशत छ । अघिल्लो वर्ष २०८०/८१ मा यस्तो चुहावट २.११ प्रतिशत थियो । 
 

सुदूर पश्चिम प्रदेश
कर्णालीभन्दा उच्च चुहावट रहेको सुदूर पश्चिममा गत वर्ष बिजुली चुहावट अघिल्लो वर्षको तुलनामा बढ्न पुगेको छ । अघिल्लो वर्ष (२०८०/८१) ४.५१ प्रतिशत रहेको सुदूर पश्चिममा गत वर्ष (२०८१/८२) मा ५.०५ प्रतिशत चुहावट रह्यो ।
कुल १२ वटा वितरण केन्द्र रहेको सुदूर पश्चिमले गत वर्ष ३८ करोड ८० लाख ७ हजार युनिट बिजुली प्राप्त गरेको थियो । त्यसमध्ये ४२ करोड १६ लाख १९ हजार युनिट बिजुली बिक्री भयो र ६ करोड ६३ लाख ८७ हजार युनिट बिजुली चुहावट भयो ।
गत वर्ष सुदूर पश्चिमले गरेको चुहावटको आर्थिक मूल्य भने ६६ करोड ६६ लाख रुपैयाँ रहन पुग्यो । 

 

यस सम्बन्धमा प्राधिकरणका प्रदेश प्रमुखहरु (मधेस प्रदेशबाहेक) सम्पर्कमा आउन चाहेनन् ।


 

प्रकाशित मिति : मंगलबार, भदौ १०, २०८२ | १५:४५:३३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया