सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटिए

जलसरोकार
मंगलबार, पुस ०१, २०८२ | १६:४१:०१ बजे

 

किमाथाङ्का: सङ्खुवासभामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख काटिएको छ । आयोजनाको संरचना र पहुँच मार्ग निर्माणका क्रममा भोटखोला गाउँपालिका–२ र ४ का राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुख कटान गरिएको हो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी चन्द्रलाल राईका अनुसार माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि जम्मा दुई हजार १६८ बोट रुख काटिएका छन् । भोटखोला–४ को राष्ट्रिय वन तथा भोटखोला–२ अन्तर्गत पारीपाखा र माक्पालुङ सामुदायिक वन क्षेत्रको करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलमा रुख कटान गरिएको उनले जाकारी दिए ।

उक्त आयोजनाले २५ वर्षसम्म वन क्षेत्र प्रयोग गर्न अनुमति पाएको छ । यससँगै माथिल्लो अरुण आयोजनाका लागि पहुँच मार्ग निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । प्राधिकरणले २ दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरी काम सुरु गरिसकेको जनाएको छ ।

पहुँच मार्ग निर्माणका क्रममा अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । पहुँच सडक भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्म निर्माण गरिनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त सडक निर्माण सात अर्ब ९१ करोड ३९ लाख रुपैयाँ लागतमा सम्पन्न हुने छ ।

यसैबीच, जिल्लामा विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि हालसम्म १४ हजारभन्दा बढी रुख कटान भइसकेको छ । डिभिजन वन कार्यालयका अनुसार अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रसारण लाइन निर्माणका लागि १८ वटा सामुदायिक वन क्षेत्रका १४ हजार ६२७ रुख काटिएका छन् ।

कार्यालयका अनुसार जिल्लाका छ वटा स्थानीय तहमा फैलिएका ११ वटा जलविद्युत् आयोजनाले वन क्षेत्र प्रयोग गरेका छन् । विद्युत् विस्तारका लागि मात्रै सरकारी वन क्षेत्रका पाँच हजार ४०० रुख काटिएको जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, पुस ०१, २०८२ | १६:४१:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया