सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रसुवाका ५ जलविद्युत् आयोजनामा २०० भन्दा बढी कर्मचारी सम्पर्कविहीन

जलसरोकार
बिहीबार, भदौ ११, २०८३ | १६:०८:२६ बजे

 

काठमाडौं : भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवामा निर्माणाधीन तथा सञ्चालित जलविद्युत् आयोजनामा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। पछिल्लो विवरणअनुसार जिल्लाका पाँच प्रमुख जलविद्युत् आयोजनामा कार्यरत २०० भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।

बाढीका कारण कतिपय आयोजना क्षेत्रमा कर्मचारी तथा कामदार थुनिएका छन् भने सडक तथा सञ्चार सम्पर्क विच्छेद हुँदा उनीहरूको अवस्थाबारे यकिन विवरण प्राप्त हुन सकेको छैन।

माथिल्लो त्रिशूली–१ मा सबैभन्दा ठूलो क्षति

२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सबैभन्दा ठूलो क्षति भएको छ। निर्माणाधीन आयोजनाको इलेक्ट्रो–मेकानिकल ठेकेदार एन्ड्रिज हाइड्रोका ७६ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये करिब आधा नेपाली र आधा विदेशी नागरिक रहेको बताइएको छ।

त्यस्तै, आयोजनाको प्रवर्द्धक कम्पनीका ११ जना कर्मचारी पनि सम्पर्कविहीन छन्। तीमध्ये आठ जना कोरियन नागरिक रहेको जनाइएको छ। आयोजनाका सात जना परामर्शदाता पनि सम्पर्कबाहिर छन्।

हाल आयोजनाको हेडवर्क्स क्षेत्रमा १२ जना तथा पावर हाउस क्षेत्रमा २०० भन्दा बढी कामदार उद्धारको पर्खाइमा रहेको विवरण छ।

लाङटाङ खोलाको सुरुङमा ६० जना थुनिए

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङभित्र २५ जना कर्मचारी र ३५ जना कामदार गरी ६० जना थुनिएका छन्।

उनीहरूसँग हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन। सडक तथा अन्य पहुँच मार्ग अवरुद्ध हुनुका साथै हेलिकप्टरको अभावका कारण उद्धार टोलीसमेत घटनास्थल पुग्न नसकेको बताइएको छ।

रसुवागढीका ५१ कर्मचारी सम्पर्कविहीन

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ५१ जना कर्मचारी पनि बाढीपछि सम्पर्कविहीन भएका छन्।

टिमुरे क्षेत्रमा तीन जना कर्मचारी अग्लो स्थानमा पुगेर ज्यान जोगाउन सफल भए पनि अन्य कर्मचारीसँग सञ्चार सम्पर्क पूर्णरूपमा विच्छेद भएको जनाइएको छ।

मैलुङ खोलाका ८ कर्मचारीको अवस्था अज्ञात

५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत आठ जना कर्मचारी बुधबारदेखि नै सम्पर्कविहीन छन्।

उनीहरूको अवस्था बुझ्न हेलिकप्टरमार्फत हवाई अवलोकन गर्ने तयारी भइरहेको छ।

रसुवा भोटेकोशीमा २ कामदार हराए

१२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत् आयोजनाका सिभिल ठेकेदार सिनो हाइड्रोका दुई जना कामदार पनि बाढीपछि हराइरहेका छन्।

अन्य पाँच जना चिनियाँ तथा नेपाली कामदार नजिकैको गाउँमा शरण लिएर बसेका छन्। उनीहरूलाई समेत हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको छ।

सडक र सञ्चार अवरुद्ध हुँदा उद्धारमा कठिनाइ

बाढी र पहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कसमेत विच्छेद भएकाले आयोजनामा भएको वास्तविक क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको छ।

खराब मौसम, विकट भौगोलिक अवस्था र पहुँच मार्ग अवरुद्ध भएका कारण हेलिकप्टरमार्फत उद्धार गर्नसमेत समस्या भइरहेको छ।

ऊर्जा मन्त्रालय तथा सम्बन्धित जलविद्युत् कम्पनीहरूले सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोज तथा उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय गरिरहेका छन्। प्रभावित आयोजनाहरूमा उद्धारसँगै क्षतिको विस्तृत विवरण संकलन गर्ने कामसमेत अघि बढाइएको छ।

 

 

प्रकाशित मिति : बिहीबार, भदौ ११, २०८३ | १६:०८:२६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया