बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, ५०० सोलार पावर बैंक पठाउँदै
एलडिसीको निरीक्षणमा जाँदै ऊर्जामन्त्री श्रेष्ठ
जलसरोकार
काठमाडौं : विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि बत्तीविहीन बनेको रसुवासहितका बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गर्न थालेको छ।
भोटेकोशी बाढीका कारण १२ वटा जलविद्युत् आयोजनामा क्षति पुग्दा ४३१ दशमलव १ मेगावाट विद्युत् उत्पादन बन्द भएको अवस्थामा मन्त्रालयले रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा तत्कालका लागि वैकल्पिक ऊर्जाको व्यवस्था गर्न लागेको हो।
ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरी प्रभावित क्षेत्रमा आज ५०० वटा सोलार पावर बैंक पठाउने तयारी गरेको छ। प्रभावित नागरिकलाई बत्ती बाल्न तथा मोबाइल चार्ज गर्न सहज होस् भन्ने उद्देश्यले ती पावर बैंक प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मार्फत प्रभावित क्षेत्रमा पठाइनेछ।
ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जिव महर्जनका अनुसार रसुवामा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत् आपूर्ति सुचारु गर्न कठिन अवस्था छ।
‘रसुवामा हाम्रो सबस्टेसन उडेका कारण तत्कालै विद्युत् सुचारु गर्न सकिने अवस्था छैन। त्यसैले वैकल्पिक रूपमा बत्ती बाल्न र मोबाइल चार्ज गर्न मिल्ने गरी सोलार पावर बैंक विपद् राष्ट्रिय परिषद्मा पठाउँदैछौँ,’ उनले भने, ‘परिषद्मार्फत प्रभावित क्षेत्रमा पठाउने तयारी छ।’
६ वटा प्रसारण लाइन अवरुद्ध
मन्त्रालयका अनुसार त्रिशूलीस्थित २२० केभी ३ ‘बी’ हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ। बाढीका कारण ६ वटा प्रसारण लाइनसमेत अवरुद्ध भएका छन्।
जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुगेर देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत बराबरको ४३१.१ मेगावाट उत्पादन बन्द भएपछि विद्युत् आपूर्ति प्रणालीमा समेत दबाब परेको छ।
यही अवस्थाबारे जानकारी लिन ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आज स्युचाटारस्थित प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर–एलडिसी) को निरीक्षण गर्ने भएका छन्।
मन्त्रीका प्रमुख स्वकीय सचिव महर्जनका अनुसार बाढीपछि विद्युत् आपूर्तिको अवस्था, देशभर परेको प्रभाव तथा विभिन्न क्षेत्रमा विद्युत् प्रणालीको वर्तमान अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठ एलडिसी पुग्न लागेका हुन्।
वैकल्पिक लाइनबाट विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास
यसैबीच, मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणले सम्भव भएका क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास गरिरहेका छन्।
सिन्धुपाल्चोकको समुद्रटारस्थित चौघोडा सबस्टेसन सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। त्यस्तै, गजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने काम भइरहेको छ।
अवरुद्ध भएका लाइनमध्ये सम्भव हुने क्षेत्रमा पेट्रोलिङ गरी क्षति पहिचान तथा मर्मत गरेर विद्युत् सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ। विद्युत् प्रणालीलाई सम्भव भएसम्म स्थिर राख्न विद्युत् प्रणाली सञ्चालन विभागलाई आवश्यक निर्देशनसमेत दिइएको छ।
आवश्यक परेको अवस्थामा वैकल्पिक विद्युत् आपूर्तिका लागि भीमफेदीमा रहेको जेनेरेटरसमेत प्रभावित क्षेत्रमा पठाउन तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।
भोटेकोशी बाढीका कारण उत्पादन, प्रसारण तथा वितरण संरचनामा भएको क्षतिले विद्युत् आपूर्तिमा चुनौती थपिएपछि मन्त्रालयले एकातर्फ दीर्घकालीन रूपमा पूर्वाधार पुनर्स्थापनाको तयारी गरिरहेको छ भने अर्कोतर्फ प्रभावित नागरिकलाई तत्काल बत्ती तथा सञ्चारको सुविधा उपलब्ध गराउन वैकल्पिक ऊर्जाको व्यवस्था अघि बढाएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सुचारु
-
बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, ५०० सोलार पावर बैंक पठाउँदै
-
अपर त्रिशूली–३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
-
भोटेकोशी बाढीमा १६५ जनाको शव फेला, ८२६ जना सम्पर्कविहीन
-
भोटेकोशी बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति, दर्जनौँ कर्मचारी सम्पर्कविहीन
-
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा