सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपालगञ्ज–सुर्खेतको विद्युत् समस्या समाधान गर्न मन्त्री श्रेष्ठको सक्रियता, मिटर अभाव एक साताभित्र हट्ने

जलसरोकार
मंगलबार, असार २३, २०८३ | ०९:५९:१३ बजे

 

काठमाडौं : नेपालगञ्ज, सुर्खेतलगायत पश्चिम नेपालका क्षेत्रमा पटक–पटक हुने विद्युत् अवरोध, न्यून भोल्टेज र मिटर अभावका समस्या समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दुई दिनसम्म स्थलगत रूपमा सरोकारवालासँग छलफल गरेका छन् । 

ऊर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रमुख, वितरण केन्द्रका अधिकारी, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा स्थानीयवासीसँगको छलफलमा पश्चिम नेपालको विद्युत् वितरण प्रणाली पुरानो र जीर्ण बन्दै गएको निष्कर्ष निकालिएको छ।

छलफलमा करिब चार दशकअघि निर्माण गरिएका संरचनाले वर्तमान विद्युत् माग धान्न नसकेको, फिडर, ट्रान्सफर्मर र अन्य वितरण उपकरणको अभावका कारण सेवा प्रभावित भएको तथा वितरण सञ्जालको स्तरोन्नति अपरिहार्य रहेको औंल्याइएको थियो।

नेपालगञ्ज क्षेत्र पश्चिमबाट आउने र पूर्वतर्फ जाने प्रसारण प्रणालीको अन्तिम बिन्दुमा रहेकाले प्राविधिक दबाब बढी परेको, पुराना उपकरणको गुणस्तर कमजोर भएको र बढ्दो विद्युत् भारका कारण सेवा प्रभावित भइरहेको प्राधिकरणले जनाएको छ।

मन्त्री श्रेष्ठको पहलपछि कर्णाली प्रदेशमा देखिएको विद्युत् मिटर अभाव तत्काल समाधान हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार माग गरिएका पाँच हजार मिटरमध्ये दुई हजार मिटर प्राप्त भई जडान सुरु भइसकेको छ भने बाँकी तीन हजार मिटर एक साताभित्र उपलब्ध गराइनेछ।

सुर्खेतमा लामो समयदेखि देखिएको न्यून भोल्टेजको समस्या समाधानका लागि वितरण प्रणाली स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरी आगामी केही महिनाभित्र काम सुरु गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ। त्यस्तै, नेपालगञ्जमा भरपर्दो, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न आवश्यक बजेट, स्पष्ट कार्ययोजना र पूर्वाधार सुदृढीकरणका कार्यक्रम तत्काल अघि बढाइने बताइएको छ।

प्राधिकरणका अनुसार सातौँ विद्युतीकरण आयोजना सम्पन्न भएयता वितरण प्रणालीमा पर्याप्त स्तरोन्नति हुन सकेको छैन। वार्षिक करिब १५ प्रतिशतका दरले विद्युत् माग बढिरहे पनि कोहलपुर राष्ट्रिय प्रसारण लाइन र टनकपुर आपूर्तिको अन्तिम बिन्दुमा रहेको सञ्जालमा अत्यधिक चाप पर्दा सेवा प्रभावित हुँदै आएको छ।

यस्तै, निर्माणाधीन न्यू नेपालगञ्ज सबस्टेशन सञ्चालनमा ढिलाइ, फिडर ओभरलोड, बारम्बार ट्रिपिङ, न्यून भोल्टेज, पुराना लाइन तथा अपर्याप्त ट्रान्सफर्मरका कारण पनि विद्युत् आपूर्तिमा समस्या देखिएको निष्कर्ष निकालिएको छ।

मन्त्री श्रेष्ठले न्यू नेपालगञ्ज सबस्टेशन यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक समन्वय गरिने, थप क्षमताका ट्रान्सफर्मर जडान, वितरण सञ्जाल विस्तार, पुराना लाइन तथा कन्डक्टर स्तरोन्नति, नयाँ फिडर निर्माण र प्रभावकारी लोड व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने बताए । 

उनले फिडर ओभरलोड, ट्रिपिङ र न्यून भोल्टेजलगायत प्राविधिक समस्याको विस्तृत अध्ययन गरी तत्काल कार्यान्वयनमा जाने स्पष्ट पार्दै अत्यधिक गर्मीका बेला नागरिक, उद्योग तथा कृषि क्षेत्रमा परेको असरप्रति सरकार गम्भीर रहेको बताए । 

‘पश्चिम नेपालका नागरिकले भरपर्दो, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता हो। मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण समन्वित रूपमा काम गर्दै यी समस्या स्थायी रूपमा समाधान गर्नेछौं,’ मन्त्री श्रेष्ठले भने । 

प्रकाशित मिति : मंगलबार, असार २३, २०८३ | ०९:५९:१३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

भर्खरै