सौर्य ऊर्जालाई राष्ट्रिय प्राथमिकतामा राख्न मन्त्री घिसिङको जोड
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेपाल सौर्य ऊर्जा विद्युत् सङ्घको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालमा सौर्य ऊर्जा उत्पादन क्रमशः बढ्दै गएको उल्लेख गरे । उनले सौर्य ऊर्जा राष्ट्रिय प्रसारण ग्रिडमा जोडिन थालेकाले यसको उत्पादन क्षमता विस्तार गर्न सके विद्युत् आयातमा निर्भरता घटाउन सकिने बताए ।
मन्त्री घिसिङका अनुसार सरकारले सौर्य ऊर्जाको विकासका लागि आवश्यक मापदण्ड निर्माण गरी कार्यान्वयनमा लैजाने तयारी गरिरहेको छ। देशभर रहेका सिँचाइका नहरमाथि सौर्य ऊर्जा उत्पादन गर्ने सम्भावनाबारे अध्ययन भइरहेको र यसमा निजी क्षेत्रलाई कसरी समेट्न सकिन्छ भन्ने विषयमा सरकार सक्रिय रहेको उनले जानकारी दिए ।
छिमेकी मुलुक भारतमा एक लाख मेगावाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन भइरहेको उदाहरण दिँदै मन्त्री घिसिङले नेपालको पहाडी भूभागका डाँडाकाँडा प्रयोग गरेर पनि सौर्य उत्पादन उल्लेख्य रूपमा बढाउन सकिने बताए । भारतले १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्यसहित प्रसारण लाइन निर्माण गरिरहेको उनले उल्लेख गरे।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले जलवायु परिवर्तनका कारण खोलानालामा पानीको बहाव घट्दै जाँदा जलविद्युत् उत्पादन प्रभावित भइरहेको बताए । उनले आगामी दिनमा सौर्य ऊर्जालाई विकल्प मात्र नभई प्राथमिक ऊर्जास्रोतका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे। १६औँ पञ्चवर्षीय योजनाले नवीकरणीय ऊर्जालाई प्राथमिकतामा राखेको पनि उनले जानकारी दिए ।
ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले सरकारले आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्यसहित काम गरिरहेको बताए। जलविद्युत्सँगै सौर्य ऊर्जाको विकास पनि क्रमशः तीव्र बन्दै गएको उनको भनाइ थियो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले दुर्गम तथा विद्युत् पहुँच नपुगेका क्षेत्रमा सौर्य ऊर्जा विस्तारमा सङ्घले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सौर्य ऊर्जा क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सङ्घले पु¥याएको योगदानको सराहना गरे।
सङ्घको २५औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमसमेत रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महासंघका अध्यक्ष ढकाल र यूएई वित्त मन्त्रालयका सचिवबीच भेटवार्ता
-
नेपाल–यूएई आर्थिक सहकार्य विस्तारबारे महासंघ अध्यक्ष ढकाल र यूएई अर्थ मन्त्रालयका अन्डर–सेक्रेटरीबीच भेटवार्ता
-
ग्लोबल आइएमई बैंकले १५ वर्ष सेवा दिँदै आएका १७५ कर्मचारी सम्मानित
-
चाँदीको मूल्य ऐतिहासिक उचाइमा, सुनको भाउ भने घट्यो
-
ओखरपौवा–तिनपिप्ले २२० केभी प्रसारण लाइनको प्रारम्भिक पर्यावरणीय परीक्षणबारे सार्वजनिक सुनुवाइ
-
पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो