मन्त्री घिसिङद्वारा स्वच्छ ऊर्जा विस्तारमा केन्द्रको भूमिकाको प्रशंसा
                                        जलसरोकार
                                    
                            
                                                    
                        
                        काठमाडौं : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आफ्नो स्थापनाको २९औं वार्षिकोत्सव मंगलबार ताहाचलस्थित कार्यालयमा विशेष समारोहका साथ मनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा केन्द्रका कार्यहरू, उपलब्धी र आगामी योजनाबारे समीक्षा गरिएको थियो।
मन्त्री घिसिङले कार्यक्रम उद्घाटन गर्दै देशभर विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको र बाँकी रहेका दुर्गम भौगोलिक क्षेत्रमा ‘लास्ट माइल इलेक्ट्रिफिकेसन’ मार्फत विद्युत सेवा पुर्याउने कार्यमा केन्द्रको अझै महत्वपूर्ण भूमिका रहने बताए ।
उनले स्वच्छ ऊर्जाको पहुँच विस्तारसँगै ऊर्जा दक्षता र ऊर्जा रूपान्तरणका क्षेत्रमा केन्द्रले महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्दै विद्युतीय चुल्हो र चार्जिङ स्टेशन प्रवर्द्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 
मन्त्री घिसिङले निजी क्षेत्रले उठाउँदै आएको नेट मिटरिङ सम्बन्धी नीतिलाई अद्यावधिक गर्नुपर्ने र सौर्य ऊर्जामा १० प्रतिशतको सीमा हटाइने जानकारी समेत दिए । “ऊर्जा सम्मिश्रणमा सौर्य र वायु ऊर्जाको भूमिका बढाउँदै लग्नुपर्छ,” मन्त्री घिसिङले भने ।
साथै, नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र ऊर्जा रूपान्तरणका क्षेत्रमा काम गरिरहेका सबै साझेदार निकायहरूलाई धन्यवाद दिंदै आगामी दिनमा निरन्तर सहकार्यको लागि आह्वान गरे।
कार्यक्रमका विशेष अतिथि ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले देशको करिब शतप्रतिशत क्षेत्रमा विद्युत पहुँच पुगेको भए पनि प्रसारण लाइन पुर्याउन कठिन ठाउँहरूमा विद्युतीकरणको जिम्मा केन्द्रले निभाइरहेको बताए। उनले दिगो ऊर्जा च्यालेञ्ज फण्ड अन्तर्गत सञ्चालित परियोजनाहरूको उपलब्धी सन्तोषजनक रहेको भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
त्यस्तै, नेपालका लागि जर्मनीका राजदूत उडो एन्जेन भोल्जले जर्मन सरकारले विगत तीन दशकदेखि नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गर्दै नेपालको स्वच्छ ऊर्जा रूपान्तरणको प्रयासमा निरन्तर सहकार्य रहने बताए। उनले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण र न्यून-कार्बन अर्थतन्त्रको दिशामा नेपालको प्रयास प्रशंसनीय रहेको टिप्पणी गरे।
कार्यक्रमको अध्यक्षता गर्दै केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले अहिलेसम्म करिब ३७ लाख घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुर्याइसकिएको जानकारी दिए। उनका अनुसार हाल देशको कुल विद्युत पहुँचमा नवीकरणीय ऊर्जाको हिस्सा ८.५ प्रतिशत पुगेको छ।

ढकालले नवीकरणीय ऊर्जाको क्षेत्रमा करिब ५०० कम्पनी सक्रिय रहेको र तिनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ४० हजारभन्दा बढी रोजगारी सिर्जना गरेको जानकारी दिए। दिगो ऊर्जा च्यालेञ्ज फण्ड अन्तर्गत ‘भायबिलिटी ग्याप फन्डिङ’ले निजी लगानी आकर्षणमा प्रभावकारी भूमिका खेलेको भन्दै त्यसलाई थप विस्तार गर्नुपर्ने धारणा राखे ।
नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष कुशल गुरुङले नवीनतम प्रविधि र समावेशीकरण सहितको स्वच्छ ऊर्जा रूपान्तरणमा केन्द्रको योगदान प्रशंसनीय रहेको बताउँदै, कार्बन आम्दानीको उपयोग र निजी क्षेत्रको लगानीका लागि अनुकूल नीतिगत वातावरण तयार गर्न सरकारसँग आग्रह गरे।
कार्यक्रममा नायब कार्यकारी निर्देशक डा. नारायण प्रसाद अधिकारीले स्वागत मन्तव्य राख्दै, अनुदानमा आधारित ऊर्जा कार्यक्रमहरू हाल ऋण र लगानी-आधारित मोडेलमा रूपान्तरण हुँदै गएको जानकारी दिए।
कार्यक्रममा सरकारी, गैरसरकारी, निजी क्षेत्र र शैक्षिक संस्थासहित करिब ३०० जना सहभागी भएका थिए। सञ्चालन केन्द्रकी उप–निर्देशक शुभलक्ष्मी श्रेष्ठले गरेकी थिइन् ।
सो अवसरमा “सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार–२०८२” तीन उत्कृष्ट संस्थाहरूलाई प्रदान गरिएको थियो।
- **गिरीखोला जलपादेवी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड (जुम्ला)**लाई लघु जलविद्युत विकास र ग्रामीण विद्युतीकरणमा योगदानका लागि,
 - **इको रिन्युएबल प्रा.लि.**लाई ‘टु एक्सिस ट्र्याकिङ’ प्रणालीमा आधारित कृषि सौर्य फोटोभोल्टाइक आयोजना विकासका लागि,
 - **स्मार्ट टेक एग्रो एण्ड बायो इनर्जी प्रा.लि.**लाई वातावरणमैत्री बायो पेलेट प्रवर्द्धनमार्फत इन्धन रूपान्तरणमा योगदानका लागि पुरस्कार प्रदान गरिएको हो।
प्रत्येक पुरस्कारको राशी रु. ५०,००० रहेको छ। 
सुप्रविध सुवास श्रेष्ठको स्मृतिमा सन् २०७४ देखि प्रदान हुँदै आएको यो पुरस्कार मञ्चुका स्मृति अक्षय कोषमार्फत सञ्चालन हुँदै आएको हो।
यस अवसरमा चेन्ज डिजिटल प्रा.लि. र नेपाल सौर्य विद्युत उत्पादक संघलाई केन्द्र परिसरमा विद्युतीय चार्जिङ स्टेशन तथा सौर्य पम्पिङ प्रणाली जडानमा सघाएको योगदानका लागि प्रशंसा-पत्र पनि प्रदान गरिएको थियो।
लेखकको बारेमा
                                            प्रतिक्रिया
भर्खरै
- 
                        
                            
कार्बन व्यापारबाट ९ करोडभन्दा बढी आम्दानी, १० लाख घरधुरीलाई लाभ पुग्ने नयाँ कार्यक्रम सञ्चालनमा
 - 
                        
                            
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको उपलब्धी : देशभर ३७ लाखभन्दा बढी घरधुरीमा स्वच्छ ऊर्जाको सेवा
 - 
                        
                            
मन्त्री घिसिङद्वारा स्वच्छ ऊर्जा विस्तारमा केन्द्रको भूमिकाको प्रशंसा
 - 
                        
                            
सेयर बजार फेरि २६ सयभन्दा तल, नेप्से २५९५ अंकमा कायम
 - 
                        
                            
विद्युत् खपत बढाउन माग पक्ष सुधार उच्च प्राथमिकतामा : मन्त्री कुलमान घिसिङ
 - 
                        
                            
सुनचाँदीको मूल्य घट्यो : सुन प्रतितोला रु १,४००, चाँदी रु ४५ कम