कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चाडबाड लक्षित यातायात व्यवस्थापनबारे मन्त्री घिसिङको निर्देशन

जलसरोकार
शनिबार, असोज ०४, २०८२ | १७:११:४१ बजे

काठमाडौं :  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाड अवधिलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षाबारे शनिबार सरोकारवालासँग छलफल गरेका छन् ।

सिंहदरबारमा आयोजित उक्त बैठकमा मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रतिनिधि तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीहरुको सहभागिता थियो ।

मन्त्री घिसिङले यात्रुहरूको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न २४ सै घण्टा सडक अवस्थाबारे जानकारी दिने र गुनासो सुन्ने व्यवस्था गर्न निर्देशन दिए । साथै, पहिरोलगायत प्राकृतिक विपद्‌का कारण सडक अवरुद्ध भएमा तुरुन्तै पुनःस्थापना गर्ने आवश्यक तयारी गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरे ।

बैठकले चाडबाड अवधिमा लागू हुने गरी सातवटा प्रमुख निर्णय गरेको छः

  1. नागढुंगा–सिस्नेरी सुरुङमार्ग : दशैं अवधिभर काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायात सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाइने, र दशैंपछि सोही मार्गबाट प्रवेश गराउने विषयमा छलफल गरिने।
  2. सुरक्षा व्यवस्था : नयाँ बसपार्क र प्रमुख राजमार्गमा प्रहरी गस्ती तथा संख्यामा वृद्धि गर्न गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने।
  3. ठूला मालबाहक सवारी साधन : बुटवल-नारायणघाट सडक खण्ड (दाउन्ने) मा दशैं अवधिभर १२ चक्केभन्दा ठूला सवारी सञ्चालन नगर्ने, तर खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने गाडीलाई निरन्तर सञ्चालन गर्न दिने।
  4. सडक सुधार :
    • मुख्य राजमार्गलाई चुस्त-दुरुस्त राख्ने र आवश्यक उपकरण परिचालन गर्ने।
    • बुटवल–नारायणघाट सडक खण्डमा २४ घण्टा दुईतर्फी आवागमन सुनिश्चित गर्ने।
    • नारायणघाट–मुग्लिन सडकखण्डको तुइन खोलामा अवरोध हटाई तत्काल सञ्चालन गर्ने।
    • तातोपानी नाका जोड्ने सडक दशैंअघि सञ्चालनमा ल्याउने।
  5. सार्वजनिक सूचना : यात्रुलाई मौसम र सडक अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्ने।
  6. कार्यविधि/निर्देशिका : सार्वजनिक यातायातलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तयार गरी मन्त्रालयमा पेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन।
  7. कन्ट्रोल रुम : सडक अवस्था र सुरक्षाबारे २४ घण्टा निगरानी गर्न फोकल पर्सनसहित कन्ट्रोल रुम सञ्चालन गर्ने।

मन्त्री घिसिङले दशैंतिहार जस्ता चाडपर्वमा यात्रुहरूले सहज, सुरक्षित र व्यवस्थित यात्रा अनुभव गर्ने वातावरण बनाउन सबै निकायलाई सक्रिय रूपमा जुट्न आग्रह गरेका छन् । 

प्रकाशित मिति : शनिबार, असोज ०४, २०८२ | १७:११:४१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया