सिरहा–धनुषा जोड्ने कमला पुलको मन्त्री घिसिङबाट स्थलगत अनुगमन, निर्माण तीव्र बनाउन निर्देशन
जलसरोकार
सिरहा–धनुषा: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् । अनुगमन टोलीमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी लगायतका अधिकारीहरू सहभागी थिए ।
निर्माण प्रक्रिया ढिलाइ भएको, पुल नबन्दा नागरिकले लामो रुट प्रयोग गरी आवत–जावत गर्न बाध्य भएको लगायतका गुनासो आएपछि मन्त्री घिसिङले समस्या समाधानका लागि अनुगमनको व्यवस्था गरेका हुन् ।
यो पुल २०६८ साल जेठमा २४ करोड ९१ लाख रुपियाँ (भ्याटसहित) लागतमा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको थियो । सुरुको सम्झौता अनुसार पुल २०७१ साल मंसिरमा सम्पन्न हुने तय गरिएको थियो । तर निर्माणमा ढिलाइ हुँदा आठौं पटक ठेक्का म्याद थप गरिएको छ । हाल निर्माण व्यवसायीले आगामी असारसम्म म्याद थपका लागि प्रस्ताव पेश गरेका छन् र प्रक्रिया जारी छ ।
मन्त्री घिसिङले अनुगमनको क्रममा भने, “यो पुल समग्र मधेश क्षेत्रको विकासका लागि अत्यन्त महत्वपूर्ण छ । निर्माण कार्य तिब्र गतिमा अघि बढाइनेछ । विगतमा भएको अनियमिततामा दोषी देखिएकालाई कानुन बमोजिम कारवाही गरिनेछ ।”
पुल निर्माणको भौतिक प्रगति ८३ प्रतिशत र वित्तीय प्रगति ८२ प्रतिशत रहेको छ। १२ वटा स्पान भएको पुलको लम्बाइ ४६९ मिटर छ । ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीले नै पुल डिजाइन गरी निर्माण गर्ने मोडल अपनाइएको हो। पुल निर्माणसँगै नदीको दुवै किनारमा १,३०० मिटर नदी नियन्त्रण र २०० मिटर पहुँच सडक निर्माण गर्नु पर्नेछ ।
१७ असार २०७८ मा कमला नदीमा आएको बाढीले पुलका दुई पायल भासिँदा चारवटा स्लावमा क्षति पुगेको थियो । क्षति पुगेका स्लावमध्ये दुईवटा हटाइएका छन् भने बाँकी दुईवटा स्लाव हटाउने काम बाँकी छ । विज्ञबाट माटो परीक्षण गरी परिमार्जित डिजाइन स्वीकृत गरिएको छ । सिरहापटि दुई स्लाव हटाउने, एउटाको पायर क्याप र अर्कोको पायरमा दुई मिटर स्टिम ढलान गर्ने काम सम्पन्न गरी बाँकी दुई स्पान मजबुत बनाउने काम भइरहेको छ ।
स्वीकृत परिमार्जित डिजाइन अनुसार पुल आगामी असारभित्र निर्माण सम्पन्न गरी यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। अनुगमनको क्रममा मन्त्री घिसिङ धनुषाबाट डुङ्गा चढेर सिरहा पुगेका थिए र बब्लु गुप्तासँगै पुल निर्माणको निरीक्षण गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य