रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्छ : कुलमान घिसिङ
‘उज्यालो नेपाल’ अभियानमा जोडिन आह्वान

-lg-1752218172.jpeg)
ओमान : नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले घरपरिवारबाट टाढा रहेर खाडी मुलुकमा पसिना बगाएर देशमा रेमिट्यान्स पठाउने नेपाली श्रमिकलाई राज्यले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
बहराइन, ओमान, युएई र कतार जस्ता मध्यपूर्वका देशहरूमा रोजगारीका लागि गएका नेपाली श्रमिकहरूले वार्षिक करिब साढे सात खर्ब रुपैयाँ (नेपालको कुल ग्राहस्थ उत्पादनको झण्डै एक चौथाइ) रेमिट्यान्समार्फत नेपाल पठाइरहेका छन् । यस्तो महत्वपूर्ण योगदान गर्ने श्रमिकप्रति सम्मान प्रकट गर्ने वातावरण निर्माण गर्नुपर्ने घिसिङले बताए ।
ओमानमा आयोजित नेपाली श्रमिक सम्मान समारोहलाई सम्बोधन गर्दै उनले श्रमको सम्मान नभएसम्म मुलुकको आर्थिक समृद्धि सम्भव नहुने उल्लेख गरे । उनले भने, ‘वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनावश्यक झन्झट सिर्जना गरी दुःख दिने काम बन्द गर्नुपर्छ । देशको अर्थतन्त्र धान्न योगदान पुर्याउने नागरिकलाई अपमान होइन, सम्मान गरिनुपर्छ । समस्याहरू समाधान गरिनुपर्छ, साथै स्वदेशमै श्रम अवसरहरू सिर्जना गरिनुपर्छ ।’

पूर्वप्रमुख घिसिङले ‘देशभित्रै केही गर्न सकिन्छ’ भन्ने आशा र विश्वास जगाउन सुरु गरिएको ‘उज्यालो नेपाल अभियान’मा सबैलाई जोडिन आह्वान गरे । उनले ‘उज्यालो नेपाल’ केवल विद्युत आपूर्तिसँग मात्र सीमित नरहेको, सुशासन, चुस्त सार्वजनिक सेवा, सामाजिक न्याय र आर्थिक समृद्धि हासिल गर्न आवश्यक समग्र आर्थिक क्रान्तिको अभियान भएको प्रष्ट पारे ।
मध्यपूर्वका विभिन्न देशहरू— बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका घिसिङले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूसँग भेटघाट गर्नुका साथै उनीहरूको बसोबास क्षेत्रको समेत अवलोकन गरेका थिए । कार्यक्रमका क्रममा ओमानस्थित नेपाली समुदायले लोडसेडिङ अन्त्य गरी मुलुकको ऊर्जा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै घिसिङलाई विशेष सम्मानसमेत गरेको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्छ : कुलमान घिसिङ
-
अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन
-
आजको लागि विदेशी मुद्राको विनिमयदर
-
विभिन्न स्थानहरूमा भारी वर्षाको सम्भावना
-
ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बिक्री बन्द हुने
-
प्राकृतिक प्रकोप न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : ऊर्जा मन्त्री खड्का