सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मध्य मेवा जलविद्युत् आयोजना (७३.५ मेगावाट) को हेडवर्क्समा महत्वपूर्ण उपलब्धि

आयोजनामा ‘रिलिज स्लुइस ड्याम’ निर्माण सम्पन्न

जलसरोकार
मंगलबार, फागुन ०५, २०८२ | ०८:०५:०३ बजे

काठमाडौं : ताप्लेजुङस्थित ७३.५ मेगावाट क्षमताको मिडिल मेवा जलविद्युत् आयोजना (PRoR Scheme) अन्तर्गत हेडवर्क्स (मुहान संरचना) को मुख्य संरचना ‘रिलिज स्लुइस ड्याम’ (पानी छोड्ने ढोका भएको बाँधको भाग) निर्माण सम्पन्न भएको छ।

जलविद्युत् आयोजनामा नदीको पानीलाई नियन्त्रण गरी विद्युत् उत्पादनका लागि प्रयोग गरिन्छ। तर नदीमा सधैं एउटै मात्रामा पानी बग्दैन। वर्षायाममा बाढी आउँछ भने हिमाली नदीहरूमा बालुवा, माटो र ढुंगासहित धेरै गाद पनि बगेर आउँछ। यस्तो अवस्थामा आयोजनाको मुख्य संरचना (हेडवर्क्स) सुरक्षित राख्नका लागि रिलिज स्लुइस ड्याम निर्माण गरिन्छ।

रिलिज स्लुइस ड्याम भनेको बाँधको यस्तो भाग हो, जहाँ विशेष ढोका (गेट) जडान गरिएको हुन्छ। आवश्यकता पर्दा यो ढोका खोलिएर अतिरिक्त पानी तथा गादयुक्त प्रवाहलाई नियन्त्रणपूर्वक तलतिर छोडिन्छ।

यसको मुख्य उद्देश्य बाढीको दबाब कम गर्नु, इन्टेक क्षेत्रमा गाद जम्न नदिनु, र टर्बाइन तथा अन्य उपकरणहरूलाई क्षति हुनबाट जोगाउनु हो।

यसरी, रिलिज स्लुइस ड्याम जलविद्युत् आयोजनाको दीर्घकालीन सुरक्षा र प्रभावकारी सञ्चालनका लागि अत्यन्त महत्वपूर्ण संरचना मानिन्छ।

आयोजनाले निर्माण कार्यमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै हेडवर्क्सतर्फको प्रमुख संरचना सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। यो प्रगति आयोजनामा संलग्न प्राविधिक तथा निर्माण टोलीको निरन्तर मेहनत, प्रतिबद्धता र समन्वयको परिणाम भएको उल्लेख गरिएको छ।

‘वन टिम, वन ड्रीम’ नाराका साथ अघि बढिरहेको आयोजनाले निर्धारित समयसीमा भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। रिलिज स्लुइस ड्याम सम्पन्न भएसँगै अब आयोजनाको बाँकी संरचनागत कार्यहरू थप तीव्रताका साथ अघि बढाइने जनाइएको छ।

मिडिल मेवा जलविद्युत् आयोजना सम्पन्न भएपछि राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति गरी देशको ऊर्जा उत्पादन क्षमतामा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : मंगलबार, फागुन ०५, २०८२ | ०८:०५:०३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया