सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

उपत्यकाको विद्युत् आपूर्ति बलियो बनाउँदै मातातीर्थ–चोभार १३२ केभी लाइन, निर्माण सकियाे

जलसरोकार
मंगलबार, असोज २०, २०८३ | १२:१४:२५ बजे

 

काठमाडौं : काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको करिब ६ किलोमिटर लामो यो खण्ड शुक्रबारबाट चार्ज गरिने भएको हो।

काठमाडौंको मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको प्रसारण लाइन चार्ज भएपछि उक्त खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुनेछ र नियमित विद्युत् प्रवाहका लागि सञ्चालनमा आउनेछ। यससँगै उपत्यकाको विद्युत् आपूर्ति प्रणालीमा थप वैकल्पिक मार्गसमेत थपिनेछ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन कायम गर्न थप सहज हुने बताए । 

उहाँका अनुसार चोभार सबस्टेसनदेखि ललितपुरको पाटनसम्मको करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाइएको छ।

प्राधिकरणले आगामी हिउँदयाममा उपत्यकामा बढ्ने विद्युत् माग व्यवस्थापन गर्ने उद्देश्यले गत असोज ८ गते मातातीर्थ–चोभार प्रसारण लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। लाइन सञ्चालनका लागि आवश्यक पूर्वाधारअन्तर्गत चोभार सबस्टेसनमा दुईवटा वे निर्माण गरिएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर १३२ केभी प्रसारण लाइनको रिङ संरचना निर्माण गर्ने उद्देश्यले थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजना सुरु गरिएको थियो। उपत्यकाको विद्युत् आपूर्तिलाई पर्याप्त, सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने लक्ष्यसहित अघि बढाइएको आयोजनाले भने ललितपुर खण्डमा स्थानीय अवरोधका कारण लामो समयदेखि गति लिन सकेको छैन।

आयोजनाअन्तर्गत ललितपुरको खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रमा स्थानीय बासिन्दाबाट प्रसारण लाइनको रुट परिवर्तनको मागसहित अवरोध भएपछि वैकल्पिक रूपमा चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण अघि बढाइएको हो।

चोभार सबस्टेसनमा स्थानीय विद्युत् आपूर्तिका लागि ११ केभीका नौवटा फिडर राखिएका छन्। उक्त सबस्टेसनबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक, एकान्तकुनालगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ। सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा विद्युत् भोल्टेज सुधार हुनुका साथै आपूर्ति प्रणाली थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।

हाल मुख्यतः त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसनमार्फत काठमाडौं उपत्यकामा आपूर्ति हुँदै आएको छ। मातातीर्थदेखि चोभारसम्मको १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि विद्युत् आपूर्तिका लागि थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ।

चोभार सबस्टेसनबाट चक्रपथ हुँदै ललितपुरको लगनखेलस्थित पाटन सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणाधीन छ। भूमिगत लाइन निर्माणसँगै पाटन सबस्टेसनलाई समेत स्तरोन्नति गरी १३२ केभी स्तरमा सञ्चालन गर्ने काम अघि बढाइएको छ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा आर्थिक वर्ष २०५५/५६ देखि थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो। आयोजनाअन्तर्गत काठमाडौं र भक्तपुरतर्फको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ। काठमाडौं खण्डमा निर्माण सम्पन्न भएको मातातीर्थ–चोभार लाइनलाई अब चार्ज गर्न लागिएको हो।

ललितपुरतर्फ भने खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरेपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन। स्थानीय अवरोधका कारण उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण रिङ संरचनामा सञ्चालन गर्ने योजना अझै प्रभावित हुँदै आएको छ।

मातातीर्थ–चोभार खण्ड सञ्चालनमा आएपछि भने उपत्यकाको विद्युत् आपूर्ति प्रणालीमा अर्को मार्ग थपिनेछ। यसले बढ्दो विद्युत् माग व्यवस्थापनसँगै आपूर्ति प्रणालीलाई थप सुरक्षित र भरपर्दो बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।

प्रकाशित मिति : मंगलबार, असोज २०, २०८३ | १२:१४:२५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया