२१ दिनपछि पुनः सञ्चालनमा मर्स्याङ्दी जलविद्युत् केन्द्र
जलसरोकार
काठमाडौँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रमा गरिएको मर्मतसम्भार कार्य सम्पन्न भएसँगै पुनः विद्युत् उत्पादन सुरु गरिएको छ । करिब २१ दिनसम्म प्लान्ट पूर्ण रूपमा बन्द (सटडाउन) गरी गरिएका प्राविधिक तथा सिभिल संरचनासम्बन्धी जटिल कामहरू निर्धारित समयमै सम्पन्न भएपछि केन्द्रले उत्पादन पुनः सुरु गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरूमध्ये क्षमता र वार्षिक उत्पादनका हिसाबले महत्वपूर्ण मानिने यस केन्द्रले गत आर्थिक वर्षमा ४५१ दशमलव सात गिगावाट घण्टा विद्युत् उत्पादन गरेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म केन्द्रले २९३ दशमलव पाँच गिगावाट घण्टा विद्युत् उत्पादन गरिसकेको छ। केन्द्रको दीर्घकालीन सञ्चालनलाई सुरक्षित र प्रभावकारी बनाउन फागुन २ गतेदेखि प्लान्ट बन्द गरेर मर्मतसम्भार कार्य सुरु गरिएको थियो।
केन्द्र प्रमुख कपिलदेव मानजनका अनुसार यसपटकको सटडाउन अवधिमा वर्षौँदेखि थाती रहेका तथा प्राविधिक रूपमा चुनौतीपूर्ण मानिएका धेरै काम सम्पन्न गरिएको छ। विशेषगरी बाँध क्षेत्रको माथिल्लो तटीय भाग र डिसेन्डर नजिक कटानका कारण जोखिममा परेको संरचनाको संरक्षण गरिएको छ। साथै, विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको ‘अन्डर स्लुइस गेट’ को क्षतिग्रस्त संरचनाको मर्मत गरी पुनः सञ्चालन योग्य बनाइएको छ। सुरुङभित्र बालुवा प्रवेश हुन नदिन यो संरचना निकै महत्वपूर्ण मानिन्छ।
यस अवधिमा मुख्य इन्टेक नजिक रहेको कम्पनसेटिङ पोखरीमा लामो समयदेखि थुप्रिएको बालुवा हटाउने कार्य पनि सम्पन्न गरिएको केन्द्रले जनाएको छ। केन्द्र प्रमुख मानजनका अनुसार लामो समयदेखि रोकिएका ठेक्का सम्झौतासम्बन्धी कार्यहरू तथा मेकानिकल मर्मतसम्भारलाई उच्च प्राथमिकतामा राखेर सम्पन्न गरिएको हो। विद्युत् गृहको युनिट नम्बर ३ को ओभरहलिङ कार्यमा केन्द्रकै कर्मचारीका साथै अन्य जलविद्युत् केन्द्रका प्राविधिकहरू समेत संलग्न गराइएको थियो।
बाँध क्षेत्रमा भइरहेको सिभिल मर्मतका लागि तीन सिफ्टमा २४सै घण्टा जनशक्ति परिचालन गरिएको थियो। खोलाको बहाव न्यूनतम रहेको समयमा उत्पादनमा कम असर पर्ने गरी मर्मत योजना बनाइएको केन्द्रले जनाएको छ।
तालुक कार्यालय, विभाग र निर्देशनालयको समन्वय तथा उच्च व्यवस्थापनको सहयोगका कारण वर्षौँदेखि रोकिएका महत्वपूर्ण सिभिल कार्यहरू सम्पन्न गर्न सफल भएको केन्द्रको भनाइ छ। सटडाउनकै अवधिमा विद्युत् गृहमा एलटी टाइप ब्रेकर परिवर्तनसहित आवश्यक इलेक्ट्रिकल र मेकानिकल मर्मतसम्भारका कामहरू पनि सम्पन्न गरिएको छ।
केन्द्रका अनुसार हालको मर्मतसम्भारपछि विद्युत् उत्पादनको क्षमता अझ सुधार हुने र प्राविधिक जोखिम घट्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्नो रिभर्स लिमिटेडले चैत ९ देखि आईपीओ खुलाउने
-
याम्बालिङ्ग हाइड्रोपावरले चैत ८ देखि आईपीओ निष्काशन गर्ने
-
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति
-
२१ दिनपछि पुनः सञ्चालनमा मर्स्याङ्दी जलविद्युत् केन्द्र
-
आइतबारसम्म देशका धेरै भू-भागमा तुवाँलो, दुई दिनपछि मौसममा केही सुधार हुने सम्भावना
-
नयाँ सरकारको बाटो: ऊर्जा, उद्योग र रोजगारी