निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित
जलसरोकार
दार्चुला : मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर उपलब्ध गराउनुपर्ने माग राख्दै स्थानीयले आन्दोलन सुरु गरेका हुन् ।
अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी गरिरहेका बेला स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था सिर्जना भएको आरोप लगाएका छन् । यसका लागि स्थानीयले ‘मकरीगाड सेयर वितरण सङ्घर्ष समिति’ गठन गरी कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् ।
सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने माग गरिएको छ। साथै आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने मागसमेत उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा आयोजनाका कारण प्रभावित सडकमा पक्की पर्खाल र तटबन्ध निर्माण गर्नुपर्ने, प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार विकास गर्नुपर्ने तथा पानीका मुहान सुक्ने स्थानमा खानेपानी योजना निर्माण गर्नुपर्ने माग राखिएको छ । यसअघि सञ्चालनमा रहेका परम्परागत पानी घट्ट आयोजनाका कारण विस्थापित भएकाले तिनको सट्टा नयाँ पानी घट्ट निर्माण गर्नुपर्ने मागसमेत स्थानीयले अघि सारेका छन् ।
त्यसैगरी आयोजना प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण तथा आधारभूत स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउनुपर्ने माग पनि ज्ञापनपत्रमा समावेश छ । स्थानीयको माग तीन दिनभित्र सम्बोधन नगरिए मकरीगाड हाइड्रोपावर बन्द गर्ने चेतावनीसमेत दिइएको छ ।
सङ्घर्ष समितिले मकरीगाड हाइड्रोपावरलाई ज्ञापनपत्र बुझाउनुका साथै अपिहिमाल गाउँपालिकालाई पनि सेयर वितरण र आयोजनासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्न आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई ज्ञापनपत्र बुझाउँदै स्थानीयले आयोजना प्रभावितले पाउने सेवा–सुविधाका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न माग गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा
-
तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
-
सुनचाँदीको मूल्य बढेर ऐतिहासिक उच्च बिन्दुमा पुग्दै
-
माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो