सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

दाङको दुर्गम सैघामा विद्युत् पुगेपछि जनजीवन सहज

जलसरोकार
आइतबार, चैत ०८, २०८२ | ०९:५१:३९ बजे

 

घोराही : घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत् सेवा पुगेसँगै स्थानीयको दैनिकीमा ठूलो परिवर्तन आएको छ। वर्षौँदेखि अन्धकारमा बस्दै आएका बासिन्दा अहिले घर–घरमा बत्ती बल्न थालेपछि निकै उत्साहित भएका छन्।

सैघा बोल्दीका स्थानीय धनबहादुर सार्कीका अनुसार करिब एक महिनाअघि मात्र उहाँको घरमा विद्युत् जडान गरिएको हो। “पहिले अँध्यारोमै बस्नुपर्थ्यो, बालबालिकाले टुकी वा सोलारको भरमा पढ्नुपर्थ्यो,” उहाँले भन्नुभयो, “अहिले घरमै बत्ती बाल्न पाइँदा धेरै सहज भएको छ।”

मोबाइल चार्ज गर्नकै लागि आधा घण्टा टाढा जानुपर्ने बाध्यता पनि अब हटेको छ। रातिको समयमा बिरामी पर्दा उज्यालोको अभावले झन् समस्या हुने गरेको अनुभव उनले सुनाए । “एकपटक बिरामी पर्दा घोराही बजारबाट सोलार ल्याएर बालेको सम्झना अझै ताजा छ,” उनले भने, ।

स्थानीयका अनुसार विद्युत् अभावले साना तथा घरेलु व्यवसाय सञ्चालन गर्न पनि कठिन थियो। मिल, सिलाइकटाइ, कम्प्युटर सेवा र वेल्डिङजस्ता काम सम्भव थिएनन्। तर अहिले भने गाउँमै रोजगारी र उद्यमका सम्भावना बढ्न थालेका छन्। युवाहरू गाउँमै केही गर्ने वातावरण बन्दै गएको उनीहरूको भनाइ छ।

वडाध्यक्ष ज्ञानबहादुर रायमाझीका अनुसार वडाभर विद्युत् सेवा विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ। “निर्वाचनपछि २०७९ सालमा रु तीन करोड ६७ लाख लागतमा विद्युतीकरण सुरु गरेका हौं,” उनले भने । 

यसअघि पनि प्रयास गरिए पनि सफल हुन नसकेको बताउँदै उहाँले २०८० सालको अन्त्यतिर पुनः ठेक्का प्रक्रिया मार्फत कामलाई निरन्तरता दिइएको जानकारी दिनुभयो। तर ठेकेदार कम्पनीले समयमा काम नगर्दा योजना अपेक्षाअनुसार अघि बढ्न नसकेको उनकाे भनाइ छ।

हाल सैघाका धेरै बस्तीमा विद्युत् पुगे पनि लिथान, सातम, डाँडागाउँ, पाँचपोखरी र धनचौरमा अझै सेवा विस्तार हुन बाँकी छ। ती क्षेत्रमा काम शीघ्र सम्पन्न गर्न दबाब दिइरहेको वडाध्यक्ष रायमाझीले बताए । 

स्थानीयवासीले भने अब विद्युत्सँगै सडक, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत पूर्वाधार विकासमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

 

प्रकाशित मिति : आइतबार, चैत ०८, २०८२ | ०९:५१:३९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया