सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

जलसरोकार
शुक्रबार, पुस ०४, २०८२ | ११:५४:०४ बजे

 

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएका छन् ।

‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा मन्त्री घिसिङले स्थानीय उत्पादनको उपयोगलाई प्रोत्साहन गर्ने योजना बनाइरहेको जानकारी दिए ।

उनले स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारी सिर्जना हुने उल्लेख गर्दै बाँसको व्यावसायिक खेतीले आन्तरिक माग बढाउनुका साथै संरचना निर्माणमा खर्च हुने विदेशी मुद्रा बचत गर्न सहयोग पुग्ने बताए । “संरचना निर्माणमा स्थानीय प्रविधिको प्रयोग गरौँ, आफ्नो मौलिकता संरक्षणमा जोड दिऔँ,” मन्त्री घिसिङले भने ।

सहरी विकासमन्त्रीसमेत रहनुभएका घिसिङले आफ्नै देशमा उपलब्ध काठ तथा काठजन्य सामग्रीको प्रयोग नहुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उल्लेख गरे । उनले प्रभावकारी, प्रविधिमैत्री तथा भूकम्प प्रतिरोधी संरचना निर्माणमा बाँसलगायत स्थानीय स्रोतको प्रयोग बढाउनुपर्नेमा जोड दिए  । “काठ आयातमा ठूलो रकम खर्च भइरहेको छ, बाँसका संरचनालाई प्रयोगमा ल्याउने वातावरण बनाऔँ, यसले अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउनेछ,” उनले भने ।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले स्थानीय उत्पादनको प्रयोगलाई प्रवद्र्धन गर्न मन्त्रालय तयार रहेको बताए । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले स्थानीय सन्दर्भअनुकूल, जलवायुमैत्री तथा भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि आवश्यक नीति, मापदण्ड, निर्देशिका र कार्यविधि तयार गरी कार्यान्वयन गर्न विभाग प्रतिबद्ध रहेको जानकारी दिए । 

प्रकाशित मिति : शुक्रबार, पुस ०४, २०८२ | ११:५४:०४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया